News Portal

माओवादी केन्द्र प्रदेश १ काे अधिवेशनमा प्रतिनिधिलाई समर्थकको घरमा राखिने

रातोपोस्ट संवाददाता
७२३ पटक

विराटनगर, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश १ को प्रथम अधिवेशनमा सहभागी प्रतिनिधिलाई समर्थक र आफन्तको घरमा राखिने जनाएको छ। प्रदेश अधिवेशनबारे जानकारी दिन विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ माओवादी केन्द्रका इन्चार्ज राम कार्कीले यस्तो जानकारी दिए।

अधिवेशनमा सहभागी हुन आउने प्रदेश १ का झण्डै १ हजार बढी प्रतिनिधिलाई कार्यकर्ता, समर्थक र आफन्तको घरमा राखिने कार्कीले बताए । विराटचोकमा हुने अधिवेशनमा आउने प्रतिनिधिलाई होटलमा राखेर मासु भात खुवाउने कार्यक्रम नरहेको बताउदै उनले पार्टीले दुई छाक सादा खानाको व्यवस्था गरेको र नास्तामा चिया विस्कुटको व्यवस्था गरिएको बताए ।

नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन मंसिरको २५ र २६ गते मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। इन्चार्ज कार्कीले अन्य पार्टीले विचार, नीति निर्माणमा भन्दा नेतृत्वमा जोड दिएको दाबी गर्दै उनले भने, ‘हामी ठूलाठूला गेट निर्माण गरेर, लाखौंको मञ्च बनाएर, करोडौं खर्च गरेर मानिस भेला पारेर देखावटी अधिवेशन र सम्मेलन गर्दैनौं। शरीर भएर मात्रै हुँदैन मुटु कलेजो पनि चाहिन्छ, त्यसकारण हामी विचार निर्माणमा जोड दिने गरी अधिवेशनलाई केन्द्रित गरेका छौं।’

अधिवेशनमा धेरै खर्च गर्ने भन्दा पनि विचारको मन्थन गर्ने भएकाले प्रदेश अधिवेशन खर्चिलो नहुने उनले जनाए। नेकपा माओवादी केन्द्रका प्रदेश सचिव हेमराज भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै प्रदेशको अधिवेशन एकै पटक हुने भएकाले संयुक्त रुपमा भर्चुअल माध्यमबाट सम्बोधन गर्ने जानकारी दिए। प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन्।

पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ। अधिवेशनबाट दुई सय ५९ सदस्यीय समिति निर्माण हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्