News Portal

शिक्षकको हत्या आरोपमा एक जनालाई जन्मकैदको सजाय

रातोपोस्ट संवाददाता
४९६ पटक

इलाम, २६ मंसिर । इलामको माई नगरपालिका–१ का शिक्षक पुष्पलाल राईको हत्या अभियोग लागेका सोही ठाउँका पदमबहादुर राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । ज्वाइँ जेठान सम्बन्ध पर्ने ४६ वर्षका पदमबहादुर राईले व्यक्तिगत रिसिबीका कारण जेठान ४६ वर्षीय पुष्पलालको हत्या गरेका थिए ।

मादक पदार्थ सेवन गरेका सम्बन्धले ज्वाइँ पर्ने पदमबहादुरले जेठान पुष्पलालकै घरमा गएर पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेर राति अर्कैको घरमा गएर बसेका थिए । २९ असोज २०७७ मा अम्लिसे भन्ज्याङ आधारभूत विद्यालय कार्यरत शिक्षक पुष्पलालको घरैमा शव भेटिएको थियो । भोलिपल्ट बिहान मृत भेट्टिएका पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट ‘लैला’ नामको कुकुर झिकाएको थियो ।

अनुसन्धानको लागि तालिम प्राप्त कुकुरको संकेतको आधारमा प्रहरीले पदमबहादुरलाई तत्काल पक्राउ गरेको थियो । अनुसन्धान पुरा भएपछि प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोजन दर्ता गरेको थियो । जिल्ला अदालतले अभियोगी राईलाई जन्मकैद सँगै पीडितका नाममा ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ समेत जम्मा गर्ने गरी फैसला सुनाइएको जिल्ला अदालत इलामका श्रेस्तेदार फडिन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्