News Portal

उद्यौली पर्वमा थामी समाजद्वारा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
३४९ पटक

झापा, ५ पुस । किराँत समुदायले मनाउने उद्यौली पर्व आइतबार देशभर बिबिध कार्यक्रमका साथ मनाइएको छ । नेपाल थामी समाज जिल्ला कार्यसमिति झापाले पर्वकै अवसरमा मेचीनगर- ८ स्थित भूमे थानमा विषेश पूजा अर्चनाका साथ तेस्रो जिल्ला अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल थामी समाज जिल्ला अध्यक्ष लालबहादुर थामीको सभापतित्व तथा संविधान सभाका सदस्य रविन कोइरालाको प्रमुख आतिथ्य रहेको कार्यक्रमा प्रमुख अतिथि कोइरालाले नेपाल बहुजातिय, बहुुसाँस्कृतिक, बहुधार्मिक मुलुक भएको र धार्मिक सामाजिक र राजनीतिक हिसावले सवै जातजाति समान रहेको बताएका छन् ।

देशमा आएको राजनीतिक परिवर्तनमा थामी समुदायले पुर्याएको योगदानको स्मरण गर्दै प्रमुख अतिथि कोइराललाले राजनीतिक परिवर्तनकै लागि जेठा थामीले आफ्नो ज्यानको बलिदान दिएको बताए । उनले थामी समुदायको आफ्नै भाषा धर्म र संस्कृति रहेकोले त्यसको संरक्षणमा नेतृत्वले रुपान्तरणकारी भूमिका निर्वाह गर्नु पर्ने बताए । नेपालको संविधान कुनै जाति र धर्मको लागि बाधक छैन, कोइराललाले भने, ‘यदि त्यो खाले समस्या देखिएमा संविधान संसोधन हुन्छ ।’

कार्यक्रमका विषेश अतिथि मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले नगरमा रहेका सम्पूर्ण जातजातिको भाषा, धर्म र संस्कृतिको संरक्षणमा नगरपालिका हातेमालो गरेर अघि बढ्ने प्रतिवदद्घता व्यक्त गरेका थिए । नेपालमा अल्पसंख्यक समुदायको रुपमा रहेका थामी जातिको भाषा, लिपी, संरक्षणमा नगरपालिका अभिभावक बनेर उभिन्छ नगरपालिका प्रमुख बिमल आचार्यले बताए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कोइरालला र बिशेष अतिथि आचार्यले ढ्याङग्रो बजाएर गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेती, नेपाल आदीवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषका अध्यक्ष ओम प्रकाश खापुङ, नेपाल थामी समाजका केन्द्रिय सदस्य कृण थामी, मेचीनगर- ८ का वडाध्यक्ष विकेन्द्र घिमाल, नेपाल मगरसंघ झापा जिल्ला सदस्य गम्भीरध्वज थापा, नेपाल थामी समाज इलामकी सचिव विष्णु थामीलगायले जातिय भाषा, संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु पर्ने बताए । कार्यक्रमा ख्यातिप्राप्त कलाकारहरुको एकल तथा सामुहिक नृत्य तथा जातिय संकृति झल्कने गीत प्रस्तु गरिएको थियो । सारीका थामीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव संञ्जय थामीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्