News Portal

‘हाम्रो पहिचान सन्थाल हो, सतार होइन’ भन्दै झापामा विरोध प्रदर्शन

पार्थ मण्डल
३५४ पटक

झापा, ७ पुस । ‘हाम्रो पहिचान सन्थाल हो, सतार होइन, भन्दै सन्थाल समुदायले झापाको सदरमुकाम भद्रपुरमा बुधवार दिउँसो वृहत् शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । मोरङको सुनवर्षी नगरपालिका– १ स्थित केन्द्रीय कार्यालय रहेको रिलोमाला सन्थाली आखडा नेपालले सन्थाल जातिको अधिकार, अस्तित्व, इतिहास र पहिचानलाई तोडमोड गरी लेख र अभिलेख राखिएको विरोधमा चन्द्रगढी बजार परिक्रममा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर धर्ना दिएका थिए ।

झापा र मोरङका विभिन्न स्थानबाट सयौँ सङ्ख्यामा भेला भएका सन्थाल जातिका व्यक्तिहरूले हात प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए । र्यालीसहितको धर्ना कार्यक्रम पश्चात् रिलोमाला सन्थाली आखडा नेपालका अध्यक्ष श्यामलाल बेख्रा र सचिव हखन हास्दासहितको टोलीले जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीलाई आठ बुँदे मागसहितको ज्ञापनपत्र पठाएका छन् ।

अध्यक्ष बेख्राले वाचन गरेको सो ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई बुझाएका हुन् । मागसहितको ज्ञापनपत्रमा भनिएको छ, हामी यो देशको मूलवासी हौँ । हाम्रो पहिचान सन्थाल हो, सतार हैन । सन्थालको जात, धर्म, भाषा, संस्कार र संस्कृति स्पष्ट उल्लेख हुनुपर्छ । ब्राकेट वा स्लास (सतार-सन्थाल) यस्तो हुनु हुँदैन । स्पष्ट सन्थाल मात्र हुनु पर्छ । जातमा सन्थाल, भाषामा सन्थाली, लिपिमा अलचिकी र धर्ममा सारना रहनु पर्दछ । सन्थाल जातिको नागरिकतामा नाम र थर पछाडि अपहेलित तथा गलत शब्द सतार रहेकोले जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायले अविलम्ब हटाई सुधारसहितको नागरिकता प्रदान गरियोस् ।

वडा कार्यालयले कागजताका साथै नागरिकता प्रदान गर्ने सम्बन्धित निकायमा सिफारिस गर्दा गलत तथा अपहेलित सतार शब्दलाई कहीँ कतै पनि उल्लेख नगरियोस् र राष्ट्रिय परिचयपत्रमा सन्थाल जाति स्थापित गरियोस् । २०७८ को जनगणना तथ्याङ्कलाई आधार मानेर सन्थाल जातिको बारेमा प्रकाशित लेख, रचना, पुस्तक, सामान्य ज्ञान, लोकसेवा आयोगको पुस्तक आदिमा सत्य तथ्य र वास्तविक कुरा आउनको निम्ति केन्द्रीय तथ्याङ्क विभागमा सन्थाल जातिको पहिचान र अस्तित्व स्पष्ट रुपमा उल्लेख हुनुपर्छ । नेपाली शब्द भण्डारमा सतार र सन्थाल एउटै हो, जसको अर्थ लाज पचेको, लबस्तरो, नकचरो लेखिएको छ । के सम्पूर्ण सन्थालको अर्थ लाज सरम नभएको जात हो र रु यो अभिलेख अविलम्ब सुधार गर्नुका साथै सन्थाल मज्हिप्रगाना व्यवस्था लागु गरियोस् लगायत उल्लेख छ ।

झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जातिलाई सरकारले नै जातियताको इतिहास बदल्ने र समाजमा अपहेलित गर्ने प्रयास गरेकोमा विरोधमा सडकमा उत्रिनु परेको अध्यक्ष बेख्राले आक्रोश पोखे । ‘सत्य मानवलाई लाज सरम भएको जाति भनेर परिभाषित गरिएकोले यस विरुद्धको आवाज बुलन्द गर्दै नेपालको संविधानमा मौलिक हक अन्तरगत स्वतन्त्रता र सम्मानपूर्वक बाच्न अधिकार सुनिश्चित गरिनुपर्छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस्