News Portal

व्यवस्था होइन, जनताको अवस्था बदलौँ : शर्मा

रातोपोस्ट संवाददाता
३३९ पटक

झापा, ७ पुस । कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब व्यवस्था हैन जनताको अवस्था परिवर्तन गर्न जरुरी भएको बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनपछि झापाली कार्यकर्तालाई आभार प्रकट गर्न गृहजिल्ला आएका शर्माले जनताको अवस्था परिवर्तन नहुँदा व्यवस्थामाथि नै प्रश्न चिह्न खडा भएको बताए ।

शर्माले पछिल्लो समय मोबाइलमा टावर नआउँदा पनि व्यवस्था ठीक छैन भन्न थालिएको बताए । ‘सिडिओ कार्यालयमा कर्मचारीले गलत व्यवहार गर्छ, उसले बाहिर आएर व्यवस्था ठीक छैन भन्छ । कर्मचारी साथीहरूलाई म भन्न चाहन्छु– रातदिन दुःख गर्नुभएको छ, बोल्ने शैली र भोलि भोलि भन्ने कुराले जनतामा वितृष्णा आउँछ । त्यो गर्नु भएन । कागज ठीक छ भने आजै गर्नुप¥यो,’ उनले भने, ‘थोरै तलबमा काम गर्ने कर्मचारीले अरबौँको भ्रष्टचारको कथा सुन्छ– यो देश लुटे, सके भनेर व्यवस्थालाई गाली गर्छ । किसानले मल पाएनन् भने मल दिएन भन्दै गर्दा सम्बन्धित निकायलाई हैन व्यवस्थालाई गाली गर्छ । हुँदा–हुँदा मोबाइलमा टावर आएन भने व्यवस्थालाई नै गाली गर्छ । यसले व्यवस्था मात्र हैन अवस्था पनि बदल्नुपर्छ भन्ने देखाएको छ ।’

पछिल्लो समय कम्युनिस्ट शासनको विषय पनि चर्चामा रहेको भन्दै शर्माले कम्युनिस्ट शासन पनि ठीक नभएको बताए । उनले केपी ओलीको शासनले नै कम्युनिस्ट शासन कस्तो हुन्छ भन्ने देखाएको बताए । संसदीय व्यवस्थाबाहेक अन्य व्यवस्था कल्पना गर्न नसकिने उनको भनाइ छ । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पनि कुरा आउँछ । संसदीय लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीले त जबरजस्ती गरेर दुई–दुईपटक संसद् बिघठन गरेको हैन ? एउटा व्यक्तिमा सम्पूर्ण अधिकार र शक्ति केन्द्रित गर्दा के हुन्छ ?’ उनले भने ।

शर्माले संसदीय व्यवस्थामा केही कमजोरी रहेको र यसलाई सुधार गर्दै जानुपर्ने आवश्यकता आँैल्याए । उनले पार्टीको महाधिवेशन र आन्तरिक प्रतिस्पर्धा सकिएकाले एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने पनि बताए । बिर्तामोडस्थित अग्रसेन भवनमा भएको आभार कार्यक्रममा पञ्चेबाजा, स्थानीय आदिवासीको सन्थाल नाचसहित शर्मालाई स्वागत गरिएको थियो । सोही भवनमा कार्यक्रम गरी शर्माले गत ३ असोजमा महामन्त्रीको पदमा उम्मेदवारी दिनुको अवधारणा पत्र सार्वजनिक गरेका थिए । उनले अवधारणा कार्यन्वयन गर्न प्रतिबद्ध भएको बताए ।

प्रतिकृया दिनुहोस्