News Portal

पूर्वीनाकामा सञ्चालन भयाे ‘हेल्थ डेस्क’

रातोपोस्ट संवाददाता
५०४ पटक

झापा, २१ पुस । नेपालकाे पूर्वीद्वार काँकरभिट्टामा ‘हेल्थ हेल्प डेस्क’ सञ्चालनमा आएको छ । बुधबार मेचीनगर–६ स्थित काँकरभिट्टामा रहेकाे ‘हेल्थ हेल्प डेस्क’को मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले एक कार्यक्रमकावीच व्यानर पढेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख आचार्यले कोभिड–१९ को पहिलो, दोस्रो हुँदै ‘ओमिक्रोन’ समेतको संक्रमण सीमावर्ती बजारमा देखिएकाले हुनाले चिकित्सक र प्राविधिकसहितको टोलीको व्यवस्था गरेको उनले बताए । कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेतीले विभिन्न समयमा आउने विभिन्न खाले महामारी रोग नियन्त्रणमा नगरका सवै क्षेत्रले भूमिका खेल्न आवश्यक रहेको बताइन् । उनले डेक्समा वेडको पनि व्यवस्था रहेकाले अन्य खालका विरामीहरुले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्ने जानकारी दिएकी थिइन् ।नगरपालिकाले यहिँबाट कोरोना विरुद्घको खोप समेत उपलब्ध गराउने उनको भनाई रहेकाे छ ।

मेचीनगर वडानम्बर- ६ का वडा अध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य धनप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकास वस्तीले गरेका थिए ।

कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहाल, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न राजनितिक दल प्रतिनिधि, संघ संस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए । मेचीनगर नगरपालिकाको पहलमा स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करिव ५० लाख रुपैयाँको लागतमा हेल्थ हेल्प डेस्क कार्यालय निर्माण गरिएको हो । निर्माणमा ४१ लाख ८४ हजार रुपैयाँ खर्च भएको जनाइएकाे छ ।

प्रतिकृया दिनुहोस्