News Portal

घरेलु टोली झापा ११ र आर्मीद्वारा उपाधिमा दाबेदारी प्रस्तुत

रातोपोस्ट संवाददाता
४५२ पटक

झापा, २९ फागुन । साविकको विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली झापा ११ ले पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् । साेमबार हुने फाइनल खेलमा दुवै टिमले आ–आफ्नो सबल पक्ष देखाउँदै उपाधी जित्ने दाबी गरेका हुन्।

बिर्तामोडस्थित होटल किङ्ग्स बेरीमा आयोजित प्रेस कन्फेरेन्समा दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् । प्रेस कन्फेरेन्समा बोल्दै झापा ११ का प्रशिक्षक सन्तोष तामाङले यो संस्करण जित्ने संकल्पका साथ आफूहरु आएको बताए । उनले भने,‘हामी जित्छौँ, हामीले जित्ने संकल्प लिएका छौँ ।’ आर्मी आफूहरुको प्रतिद्वन्दी भएको र जित्नका लागि रणनीति बनाएको झापा ११ का क्याप्टेन विशाल राईले बताए ।

यता त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले झापाको यो रंगशाला आफूहरुलाई घरेलु मैदान जत्तिकै भइसकेका कारण भोलिको खेल जित्नेमा विश्वस्त रहेको बताए । उनले भने,‘यो रंगशाला घरेलु मैदान झैँ लाग्छ, अहिलेसम्म जितेर जान्छौँ भन्ने लागेको छ ।’ आर्मीको खेलपनि दैनिक सुधार भइरहेको न्यौपानेले बताए । साविक झापा ११ भन्दा यस पटकको झापा ११ मा खेलाडीहरु मिश्रित रहनु आर्मीका लागि फाइदाजनक रहेको उनको भनाइ छ । आर्मीका नवयुग श्रेष्ठले चोटका कारण लामो समय खेल्न नपाएको भएपनि जितका लागि अधिकतम प्रयत्न गर्ने बताए । झापा ११ बलियो प्रतिद्वन्दी भएपनि पाँचौ संस्करणपनि आर्मीले जित्ने कोशिस गर्ने बताए ।

कार्यक्रममा झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले झापा ११ का विशाल राई ‘ए’ लाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी दिए । यो अवार्ड सरप्राइजको रुपमा घोषणा गरेको अध्यक्ष बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्