News Portal

झापा गोल्डकपको उपाधि चौथो पटक आर्मीलाई

रातोपोस्ट संवाददाता
५६४ पटक

झापा, ३० फागुन । विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ। सोमबार बिर्तामोडस्थित डोमलाल राजवंशी फुटबल मैदानमा सम्पन्न खेलमा आर्मीले झापा–११ लाई २–१ ले हराउँदै उपाधि जितेको हो।आर्मीलाई जित दिलाउन टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरे । यता विमल घर्ती मगरले एक गोल फर्काए पनि बराबरी गर्न सकेनन् । सुमन अर्यालले मैदानको दायाँ कुनाबाट गरेको प्रहार पेनाल्टी बक्सभित्र रहेका बुढाथोकीले गोलमा परिवर्तन गरेका थिए।

खेलको २१ औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो। झापा ११ का विदेशी खेलाडीले दिएको ब्याक पास नियन्त्रणमा गोलकिपरले अघि बढेर नियन्त्रण गर्ने क्रममा जर्ज प्रिन्स कार्कीले चलाखीपूर्ण प्रहार गर्दै गोल गरेका हुन्। त्यस्तै, खेलको २४ औं मिनेटमा उलरिच सिवेको पासमा विमल घर्ती मगरले गोल गर्दै गोलअन्तर घटाएका थिए। यससँगै आर्मीले खेलको पहिलो हाफ २–१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन् र आर्मीले खेल जित्यो। खेलको १० मिनेट बाँकी रहँदा आर्मीका फरवार्ड नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए।

ए डिभिजन लिगअघिको मैत्रीपूर्ण खेलमा घाइते भएका फरवार्ड श्रेष्ठले आज मैदान प्रवेश गरेका हुन्। नवयुगले चोटका कारण पूरा सिजनको ए डिभिजन लिग गुमाएका थिए। उनी खेलको ८० औं मिनेटमा मैदान पसेका हुन्। पाँचौं संस्करणको प्रतियोगितामा आर्मीले चौथो पटक उपाधि जितेको हो। यता झापा ११ लगातार पाँचौं पटक फाइनलमा पराजित भएको छ। प्रतियोगिताको दोस्रो संस्करणको उपाधि भने मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।

प्रतिकृया दिनुहोस्