News Portal

काँग्रेसलाई १३ सिटमा झारिदिने ओलीको चेतावनी

रातोपोस्ट संवाददाता
३०४ पटक

काठमाडाैँ, ५ चैत्र । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरूले काँग्रेसलाई भोट नहाल्ने दाबी गरे । काँग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले चेताइसकेको हुनाले युवाहरूले पनि ती पार्टीहरूलाई मत नदिने उनको तर्क थियो । अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाई दिएको र माधव नेपालहरू अबको निर्वाचन पछि समाप्त हुने बताए । उनले भने, ‘एमालेलाई चौंथो पार्टी बनाउँछु भन्छ कोही । अहिले चौथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ । अरूको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछ । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन । बुढो काँग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होइन ? काँग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस् तपाईंहरु । बुढाबुढी, ज्येष्ठ नागरिकहरूले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरूले काँग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरू काँग्रेस, माओवादीबाट चेतिसकेका छन् । उनीहरूले पनि काँग्रेसलाई भोट हाल्दैनन् ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि पार्टीका नेता, कार्यकर्तालाई पटकपटक सचेत गराए । उनले सत्तारुढ दलहरूको निदहराम हुने गरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताए । सत्तारुढ गठबन्धन केही नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरूलाई भोक हराम, निदहराम बनाउनुपर्ने बताए ।

अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मतबाट हराउने उनले दोहोर्‍याए । अध्यक्ष ओलीले भने, ‘अब हामीले निर्वाचनको प्रतीक्षा गर्नुछ । र, निर्वाचनमा विजय हासिल गर्नुछ । हामीले यस निर्वाचनबाट पछिल्लो प्रादेशिक र संसदीय निर्वाचनहरूको झलक दिनुछ, ताकि यिनीहरूको मनमा अहिल्यैदेखि ढ्याङ्ग्रो ठोकियोस् । अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस् । यिनलाई अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस् । यो गर्ने भनेको स्थानीय तह निर्वाचनमा हो । म यहीँ उत्साह बोकेर जान आग्रह गर्दछु । यो गठबन्धन केही पनि होइन । अदालतले बनाइ दिएको हो । अदालतले बनाएका काँचो सिसाको गठबन्धन, अदालतले बनाई दिएको सरकार, मुद्दा जितेर आएको सरकार, मुद्दा लड्न जा भन्ने, जनताको बीचमा हामी जाने । जनताको मत हामीले लिने, उनीहरूलाई हराउने । हामी जनताको मत लिएर सरकारमा जान्छौँ । काँग्रेसले अघिल्लो सरकारको भण्डाफोर गरेर निर्वाचनमा जान्छ रे । उसले जे पायो त्यही बोल्छ ।’अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब फेरि हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्