News Portal

सिन्धुलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी घाइते

रातोपोस्ट संवाददाता
५२४ पटक

सिन्धुली, ७ बैसाख । अवरुद्ध बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि बन्दकर्ताहरुले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुकाे आक्रमणमा परी ११ प्रहरी घाइतेसमेत भएका छन्।

प्रहरी र बन्दकर्ताबीचकाे बुधबार भएकाे दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका- २ पीपलभन्ज्याङ तनावग्रस्त बनेको थियाे । घाइते प्रहरीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । सिन्धुली प्रहरीका अनुसार घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएकाे थियाे । उक्त घटनाका दाेषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बुधबार बिहानैदेखि सडक अवरुद्ध गरेका छन् ।

सडक अवरुद्ध गरेका स्थानीयलाई हटाउन गएकाे प्रहरी टाेलीमाथि आक्रमण भएकाे हाे । दोहोरो झडपका क्रममा सडकमा राेकिएका केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएकाे छ । प्रहरीले स्थिति नियन्त्रणमा दिन केही राउन्ड अश्रुग्यास र हवाई फायरसमेत गरेको छ । स्थानीयले सडक बन्द गरेपछि सयौं सवारीसाधन बीच बाटाेमै राेकिएका छन् । स्थिति नियन्त्रणमा लिन र अवरुद्ध राजमार्ग खुलाउने पहल भइरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्