News Portal

दुबई पठाइदिने भन्दै लाखौँ ठगी गर्ने दुईजना पक्राउ

रातोपोस्ट संवाददाता
५२८ पटक

काठमाडौं, १६ बैसाख । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका-५ का ललितपुर ठेँचो बस्ने ३३ वर्षीय विकास तामाङ र ६० वर्षका हरिबहादुर तामाङ पक्राउ परेका हुन्।

उनीहरूले मोरङ रतुवामाई नगरपालिका ९ इटहराका काठमाडौं शान्तिनगर बस्ने २० वर्षका विक्रम मिश्रसहित ५ जनालाई भिजिट भिसामा दुबई जान प्रतिव्यक्ति एक लाख ९० हजारका दरले नौ लाख ५० हजार रुपैयाँ ठगी गरेको कार्यालयले जनाएको छ।

दुबई पुगेपछि प्रतिष्ठित कम्पनी अल सायामा सेल्स म्यानको काम लगाई दिने र कम्तीमा मासिक तीन हजार दिराम तलब हुने प्रलोभनमा पारी रकम लिएर उनीहरू सम्पर्कविहीन भएका थिए।

ठगी गर्ने दुईजनाविरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ गर्नका लागि कार्यालयलाई अनुरोध गरेपछि अनुसन्धानका क्रममा विकासलाई बिहीबार काठमाडौं चुच्चेपाटीबाट र हरिलाई शुक्रबार ललितपुरको जावलाखेलबाट नियन्त्रणमा लिइएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको छ।

प्रतिकृया दिनुहोस्