काठमाडौँ, १८ बैसाख । पाँच दलीय सत्ता गठबन्धनले सहमतिअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय गरेको छ ।
आइतबार बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनुरुप कार्य गर्न/गराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।
यस्तै बैठकले गठबन्धनको मर्म र भावनाअनरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । ठाउँ ठाउँमा गठबन्धनका केही दलले तालमेलको समझदारीविपरीत उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन दलहरूबीच केही ठाउँमा तालमेलको विषय पेचिलो बनेको छ ।