News Portal

आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने दाबी

रातोपोस्ट संवाददाता
५३९ पटक

काठमाडौं, २४ बैसाख । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले तथ्यांक विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेभन्दा बढी हुने बताए ।

उनले अहिले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको बताए । आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने बताए । उनले कोरोना महामारीपछि बैंक तथा वित्तिय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए ।

मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरे पनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यातभन्दा आयात बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको भनाइ छ । आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भए पनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे । उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि र उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउनको लागि भए पनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे । उनले यस्तो अवस्था आउन नदिन सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकितामा राखेर बजेट ल्याउनु पर्ने आवश्यकता औंल्याए ।

डा.अधिकारीले सरकारले प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए । सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको अधिकारीको दाबी छ । सरकारले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरू हेर्दा अर्थतन्त्र संकटउन्मुख रहेको अर्थविद् अधिकारीको भनाइ छ ।

अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानका लागि राजनीतिक नेतृत्व तयार हुनु पर्ने आवश्यक रहेको बताए । अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पुँजीगत खर्च गर्ने निकाय नै काम गर्न लायक नभएको बताए । उनले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनु पर्नेमा जोड दिए । रोक्काले नेपालबाट निर्यात हुने उद्योगहरूको भ्यालु इडिसन हुनु पर्ने धाराणा राखे । उनले त्यस्ता उद्योगमा सामान्य मानिसलाई रोजगारीको व्यवस्था गरे मात्रै मुलुकको आर्थिक उन्नति हुने बताए ।

उनले भने, “हाम्रो जुन आर्थिक वृद्धि छ । त्यो आर्थिक वृद्धिको हिसाबकिताब गर्न छाडिनु पर्छ । हाम्रो आर्थिक वृद्धिदरलाई आयात रेटसँग कहिले पनि तुलना गरेर गर्न सकिरहेका छैनौं । त्यसलाई छाडि दिने हो वा कम गर्ने हो भने मात्रै वृद्धिदर ६ देखि १० प्रतिशत हुन सक्छ ।”

बैंक तथा वित्तिय सल्लाहकार डा. शालिकराम पोखरेलले विदेशबाट नेपाल आउने रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या आएको बताए । उनले कोरोना महामारीबीचमा अत्याधीक रेमिटेन्स नेपाल भित्र्यिएकाले बजारमा तरलता सहजताका कारण उत्पादनभन्दा बाहिरका क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताए ।

पोखरेलले तरलता सहज भएर कर्जा आयातमा गएकाले अहिले बजारमा तरलता अभाव देखिएको बताए । उनले पछिल्लो समय राज्यमा आर्थिक नीति पनि आयातमुखी भएको बताए । पोखरेलले बैंक तथा वितीय संस्थाले प्रवाह गरेको कर्जा आयातमा लगानी गर्दा राज्यलाई राजश्व प्रचुर मात्रामा प्राप्त भए पनि आन्तरिक उत्पादन बढ्ने क्षेत्रमा लगानी नभएको बताए । जबसम्म स्वदेशमा नै आन्तरिक उत्पादन बढाउने र स्वदेशमा नै श्रमिकलाई रोजगारी दिने नीति आउँदैन तबसम्म आन्तरिक उत्पादन बढ्न नसक्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्