News Portal

हात्तीको समस्यालाई प्राथमिकतामा राख्छौं : उपप्रमुख उम्मेद्वार उप्रेती

रातोपोस्ट संवाददाता
४६५ पटक

झापा, २५ बैशाख । नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरुले मानविय र भौतिक क्षति नहुने गरी हात्तीको समस्यालाई निती बनाएर अघि बढ्ने बताएका छन् । शनिबार मेचीनगर-४ स्थित बाहुनडाँगीमा एमालेको चुनावी घरदैलो कार्यक्रममा मेचीनगरको मेयर पदका प्रत्यासी उम्मेद्रवार गोपालचन्द्र बुढोथोकी, उपमेयरकी उम्मेद्वार मिना पोखरेल उप्रेती र वडाध्यक्षका उम्मेद्वार अर्जुनकुमार कार्कीले त्यस्तो कुरा बताएका हुन् ।

हात्ती तथा पर्यावरण र नदी उत्खनन् सम्बन्धी स्थानीयले राखेको जिज्ञासालाई सम्बोधन गर्दै दुवै उम्मेद्वारहरुले मानविय र भौतिक क्षति नहुने गरी हात्तीको समस्यालाई निती बनाएर अघि बढ्ने बताएका छन् । ‘स्थानीय तहमा संघीय र प्रदेश सरकारको कानुन नवाझिने गरी काम गछौँ’, बुढाथोकीले भने-‘ आईई बीना नदी उत्खनन हुँदैन । उत्खनन्मा चुहावट नहुने गरी त्यसको व्यवस्थापन गरिनेछ ।’

‘हात्तीको आक्रमणबाट विगतमा ठुलो धनजनको क्षति भएको छ’, उप्रेतीले भनिन्-‘फेरि यस्तो समस्या जनतालाई नहुने गरी नगरपालिकामा निती निर्माण बनाएर त्यसको निराकरण गरिनेछ ।’ १५ वटा वडामध्ये ४ नम्बर वडालाई नमुना वडाको रुपमा विकास गरिने वडाध्यक्षका उम्मेद्वार कार्कीले बताए । ‘भारतबाट आउने हात्तीलाई उतै छेक्छौँ’, कार्कीले भने-‘भारतसँग जोडिएको वडाको सीमामा जैविक मार्ग, विद्युतिय तारबार र विभिन्न प्रविधि अपनाएर हात्ती यता आउन दिदैनौँ ।’

कार्यक्रममा स्थानीय विकास प्रधानले हात्ती र पुस्कर ढकालले नदी उत्खनन् नियन्त्रण सम्बन्धीका योजना बारे उम्मेद्वारसँग प्रश्न गरेका थिए । एमाले वडा नम्बर ४ का अध्यक्ष प्रविण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयरका प्रत्यासी बुढोथोकी, उपमेयरकी उम्मेद्वार उप्रेती र वडाध्यक्षका उम्मेद्वार कार्की, एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाई, स्थानीय समाजसेवी शंकर लुईटेलले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमको स्वागत तिर्थराज नेपाल र सञ्चालन वेग सुनुवारले गरेका थिए ।

प्रतिकृया दिनुहोस्