News Portal

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

एजेन्सी
६२८ पटक

एजेन्सी, २६ बैसाख । नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमबार देशभरी मतदान भइरहेको छ । निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झण्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयन हुनेछन् ।

त्यस अन्तर्गत एक उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरू र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरू रहेका छन् । मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय समयानुसार विहान ६ बजे सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने आयोगका अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिका उम्मेदवारहरू मध्ये पूर्व राष्ट्रपति फोर्डिनान्ड मार्कोसका छोरा पूर्व सिनेटर समेत रहेका ६४ वर्षका फोर्डिनान्ड मार्कोस जुनियर सबैभन्दा अगाडि रहेको दाबी गरिएको छ ।

उनको प्रमुख प्रतिश्पर्धीको रुपमा भने वर्तमान उपराष्ट्रपति ५७ वर्षिया मारिया लओनोर रोर्बेडोलाई हेरिएको छ । फिलिपिन्सको राष्ट्रपति बन्नका लागि उनीहरु बाहेक अरु आठ जनाले पनि उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका कार्यबहाक प्रवक्ता जोन रेक्स लौडियाङकोले देशभरीका सबै मतदान केन्द्रहरु आयोगको निगरानी र नियन्त्रणमै रहेको जानकारी दिए ।

सबै ठाउँमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको र अहिलेसम्म कुनै अप्रिय घटना भएको विवरण पनि प्राप्त नभएको उनको भनाइ छ । निर्वाचनका लागि ४५ हजार सैनिक, ६० हजार प्रहरी परिचालन गरिएको छ भने १२ हजार प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, गरिवी न्युनिकरण गर्ने, रोजगारी बढाउनेलगायतका विषय नै अहिलेका प्रमुख एजेण्डा बनेका छन् ।

प्रतिकृया दिनुहोस्