झापा, २७ वैशाख । आम नागरिकले समाज व्यवस्थापनका निम्ति आफ्ना प्रतिनिधिहरु निर्वाचित गरेर पठाएका छन् । ति शासक होइनन्, राजा होइनन्, उपल्लो दर्जाका नागरिक पनि होइनन् । बरु ति सेवक हुन्, सहयोगी हुन्, आम जनता जस्तै जनता हुन् । फरक केवल जिम्मेवारी हो । कतिपयले आफूलाई शासक सम्झन्छन्, कोही भने सम्राट नै भएको अनुभूतिले फुलेल हुन्छन् । ललित बहादुर तामाङ एक त्यस्ता जनप्रतिनिधि हुन् जो सधैं जनताका लागि मैदानमा डटे र कहिल्यै आफूलाई ‘खास नागरिक’ सम्झेनन् । तामाङ मेची नपरपालिका वडा नं ६ का वडाध्यक्ष हुन् ।
कोरोनाको पहिलो लहर शुरु भएपछि सर्वसाधारण आतंकित थिए । नौलो किसिमको रोग भएकाले सर्वसाधारणमा अन्योल थियो – कस्तो रोग होला, कसरी सामना गरिएला, कसरी जोगिएला आदि । सीमानाका भएकाले भारतवाट आउने र यतावाट भारत जानेको भीड पनि अचाक्ली थियो । एकातिर बन्दाबान्दी छ, अर्कातिर आउने जानेको लामो लर्को छ ।
वडाका आफ्ना नागरिकको सेवा मात्र गरेर धर पाउने अवस्था थिएन वडाध्यक्षलाई । मुलुकभरिका मान्छेले आफ्ना मान्छे यता तार्न वा उता पठाउन पनि उनै वडाध्यक्ष तामाङलाई गुहार्न थाले । उनी महेन्द्रनगरका नागरिकका प्रतिनिधि थिएनन्, तर अप्ठ्यारामा परेका नागरिकले सहयोग माग्दा उनी पछि हटेनन् । भारतमा अलपत्र परेका नेपालीलाई ल्याउने देखि क्वारेन्टिनमा राख्नेसम्मका काममा उनी दिलोज्यान दिएर लागे ।
दोस्रो लहरमा भने उनको अनुभव फरक रह्यो । पहिलामा विरामी निक्कै कम थिए । एक जनालाई सामान्य ज्वरो मात्रै आउँदा, सिंगो देशमै हल्ला भइ सक्थ्यो । तर दोस्रो लहरमा कोरोनाबारे धेरैजसो मान्छे जानकार भइसकेका थिए । सुरक्षा मापदण्ड अपनाउने सवालमा खासै ठूलो सतर्कता नअपनाए पनि सर्वसाधारणमा भय कम भइसकेको थियो । ‘सुरक्षा मापदण्डमा गरेको लापर्वाहीका कारण विरामीको संख्या ह्वात्तै बढ्यो,’ वडाध्यक्ष तामाङले भने, ‘सामान्य ठानेर हेलचेक्र्याईं गर्दा कतिले त ज्यानै गुमाउनु पर्यो ।’
दोस्रो लहरमा घरैपिच्छे कोरोना संक्रमित थिए । औषधी वोकेर स्वास्थ्यकर्मीसहित उनी घर –घर पुगे । डरलाई पन्छाएर सर्वसाधारणका घरघर चाहार्ने वडाध्यक्ष विरामीलाई ढाडस दिन्थे, ‘कुनै गारो अप्ठेरो भयो भने मलाई खवर गर्नुहोला है ।’ खतरनाक भएर आएको दोस्रो भेरियन्टलाई परास्त गर्न वडाध्यक्षको ढाडस र उर्जाले समेत काम गरेको अनुभव स्थानीय कुमारी विकको छ । विक भन्छिन्, ‘विरामी परेका वेला कसैले सोधखोज गर्दा मात्रै पनि आधा रोग निको हुने रैछ । वडाध्यक्ष ज्यूले त्यो काम गर्नु भो ।’ सिकिस्त विरामीलाई अस्पताल लैजान होस वा मृतकलाई दाहसंस्कारका लागि घाट लैजान, उनी आाफै अघि सरे ।
विशेष गरी आफ्नो वडाका विपन्न परिवारप्रति उनको बढी चासो देखिन्थ्यो । ‘हुने खानेहरुलाई अस्पताल जान समस्या हुन्न, उनीहरुलाई सहयोग नगर्दा पनि केही हुन्न’, उनी भन्छन्, ‘समस्या त विपन्न, गरिव परिवारलाई हुन्छ । उनीहरुलाई अप्ठ्यारो नहोस् भनेर नै म धेरै खटेको हुा ।’ मेची नगरका एक युवा भन्छन् ,‘तामाङ कोरोनाको समयमा ज्यानको पर्वाह नगरि दिनरात जनताको घरदैलोमा पुग्नु सामान्य मान्छेहरुका लागि ठूलो कुरा हो ।’
लकडाउनका बेला सर्वसाधारण घरभित्र थिए । सहर, बजार चकमन्न थियो । संक्रमितलाई औषधी बोकेर घरघर पुगेका उनलाई बुढाबुढी, असक्त र सबै आम नागरिकले दिएको हौसलाले पनि सधैं खटिरहन हिम्मत दियो । तामाङ भन्छन, ‘मैले जति गरेको छ, समग्र नगरबासीबाट त्यो भन्दा धेरै मैले सम्मान र स्नेह पाएको छु ।’