झापा, १२ जेठ । मेचीनगरका नवनिर्वाचित नगर प्रमुखलगायत सम्पूर्ण जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् । आज नवनिर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले झापाकाे सदरमुकाम चन्द्रगढीमा प्रमुख निर्वाचन अधिकृत एवम् जिल्ला अदालत झापाका न्यायाधीश गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।
आजै नगरपालिका कार्यालय परिषयमा आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित नगर प्रमुख बुढाथोकीले उपप्रमुख मिना उप्रेतीसहित वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । नगरबासीहरुलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँचका लागि आर्थिक वर्ष २०७९ र ०८० मा ४ वटा स्थानमा प्रयोगशाला सहितको स्वास्थ्य सेवा केन्द्रहरु संचालनको व्यवस्था मिलाउने, नगर भित्र बसोबास गर्ने आवास विहिन २५ घर परिवार पहिचान गरी आवासको लागि घर बनाइदिने निर्णय बुढाथाेकीले गरेका छन् ।
यस्तै कृषकहरुलाई कृषि क्षेत्रको विकासमा टेवा पुर्याउन सहकारी संस्थाहरुसंग आवश्यक समन्वय र सहकार्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेका छन् । नगरमा रहेका संगठित, असंगठित मजदुरहरुको स्वीकृत मजदुर पञ्जीकरण कार्यविधि अनुसार सुचिकृत गरी मजदुरहरुको स्वास्थ्य एवं जोखिम विमा गर्ने कार्यलाई आगामी आ.व २०७९ र ०८० भित्रमा कार्यान्वयन गर्ने निर्णय गरेका हुन् । शिक्षाबाट बन्चित भएका ५ देखि १२ बर्ष सम्मका वालवालिकाको पहिचान गरी आधारभूत तहसम्मकाे शिक्षाको ब्यवस्था गर्ने निर्णय नगर प्रमुख बुढाथोकीले गरेका हुन् ।
कार्यक्रममा नगरका प्रमुख प्रसाशकिय अधिकृत सुरेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, प्रदेश सभा सदस्य राधा थापा, निर्वतमान नगरप्रमुख विमल आचार्य, एमाले नेता विष्णु प्रसाईं, काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, एमाले मेचीनगर इन्चार्ज देवकुमार राई, काँग्रेसबाट प्रमुख पदका उम्मेद्वार इन्द्र बहादुर बुढाथोकी, माओवादीबाट उपप्रमुख पदका उम्मेद्वार प्रकाश भण्डारी, राप्रपाका उपप्रमुख पदका उम्मेद्वार सबिना कटेल बजगाई, माओवादीका नगर अध्यक्ष राजन चिमरीया, जसपाका नगर अध्यक्ष ओम प्रकाश खापुङ लगायत नगरका पुर्व जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गर्दै जनताको भावना र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।