News Portal

नायिका मिरुना र फुर्पाबीच सहमति

रातोपोस्ट संवाददाता
५१६ पटक

काठमाडौँ, १७ जेठ । नायिका मिरुना मगर र फुर्वा तामाङबीच सहमति भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयको रहोबरमा फुर्वाले गल्ती स्वीकारेर माफी मागेपछि नायिका मगरले भाइ सम्झेर माफी दिएपछि यो मुद्दामा सहमति भएको छ।

दुवै पक्षका साक्षीहरुको उपस्थितिमा अब आइन्दा यो मुद्दालाई अगाडि नबढाउने विषयमा सहमति भएको हो। मिरुनाका तर्फबाट चलचित्रका निर्देशक रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटा थिए।यस्तै फुर्पा तामाङको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्युर तामाङ, राजु गुरुङ, कर्मा रोप्के, हिस्से लुन्डुप लामा रहेका थिए।

सहमति अगाडि भएको छलफलमा नायिका मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा मागेकी छन्।

आइतबार साँझ सिभिल मलमा भएको चलचित्र प्रदर्शनपछि चलचित्रकी नायिका मिरुनाले लामा पहिरनमा आएका फुर्पा तामाङलाई दुर्व्यवहार गरेको भन्दै झापड हानेकी थिइन्।

नायिकाले उक्त युवकलाई उनको शरीरमा पछाडिपट्टि पटक–पटक असहज तरिकाले छोएको आरोप लगाएकी थिइन्। त्यहाँ झापड खाएका युवकले सबैको अगाडि माफी मागेका थिए। त्यसपछि उक्त युवकलाई प्रहरीले हिरासतमा लिएको थियो।

युवक प्रहरी हिरासतमा पुगेपछि मिरुनाको पक्ष विपक्षमा थुप्रै विवाद भयो। धेरैले मिरुनाले लामा पहिरनमा रहेका सोझा युवकलाई गलत आरोप लगाएको भन्दै आलोचना गरे।

घटनाको विषयलाई लिएर केएल टावर अगाडि प्रदर्शन गरी चलचित्र ‘कबड्डी – ४’ को पोस्टर जलाए। धेरैले धर्मलाई जोडेर यो घटनालाई व्याख्या गरेका थिए र चलचित्र ‘कबड्डी – ४’ लाई बहिष्कार गर्ने बताएका थिए।

प्रतिकृया दिनुहोस्