News Portal

दुई सय जनालाई २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन

रातोपोस्ट संवाददाता
२५६ पटक

खोटाङ, २१ जेठ। खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ ।

नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राबिधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो ।

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उदेश्यले वैदेसिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र बैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर बित्तीय साक्षरता कक्षाका साथमा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको केपिलासगढी गाउँपालिकास्थित सामीको परियोजना संयोजक एबं मनोसामाजिक परामर्शकर्ता सिर्जना निरौलाले बताईन् ।

सामीले वैदेशिक रोजगारमा संलग्न केपिलासगढी गाउँपालिका–१ फेदीका चार समुहमा आवद्ध सय जना र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका चार समुहमा आवद्ध सय जनालाई सहभागी गराएर बित्तीय साक्षरता कक्षा तथा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरेको जनाएको छ ।

गाउँपालिकाका सबै ७ वडामा परियोजनाले काम गरिरहेको भए पनि हालसम्म दुई वडामा मात्र वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो । ‘वैदेशिक रोजगारीबाट आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको बिकास गर्ने, व्यवस्थित परिवार निर्माण गरि भबिष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो,’ निरौलाले भनिन्, ‘यस्तै वैदेशिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्यून गर्ने, बालबालिकाको भबिष्यबारे सचेत गराउने, महिलामाथि हुने लाञ्छना र भेदभाव अन्त्य गर्ने, परिवार व्यवस्थापनलगायतका सेसन समेटिएको कक्षा सञ्चालन गरिएको छ ।’

देखिँदै तालिमको प्रभाव

बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको २४ हप्ता पुरा गरेका अधिकांश सहभागीको दिनचर्यमा परिवर्तन देखिन थालेका छन् । पहिला अरुको घरमा सागसव्जी मागेर वा किनेर खाने स्थानीय तालिममा सहभागी भएपछि आफै तरकारी खेती गर्न थालेका छन् ।
कतिपयले आफुले उत्पादन गरेका तरकारी बिक्री गरेर आम्दानी लिन थालेका छन् । गाउँघरमा बिदेशबाट हात परेको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्ने बानीको बिकास भएको छ ।

श्रीमानले विदेशमा दुःख गरेर पठाएको पैसालाई घर सम्हालेर बसेकी श्रीमतीले सानातिना ब्याबसायमा लगानी गर्न थालेका छन् । ‘कतिपयले बाख्रा र बंगुर पालन गर्न थालेका छन् । दैनिक खर्च र आम्दानीको हिसाव राख्न थालेका छन्,’ निरौलाले भनिन्, ‘खर्चलाई कम गरी आम्दानी बढाउन थालेका छन् । आफै आत्मनिर्भर बन्ने साहस गर्न थालेका छन् ।’

२२ जनालाई प्लाष्टिक टनेल

तालिममा सहभागीमध्ये रेमीट्यान्सलाई सदुपयोग गर्दै आम्दानीमुलक काम गरिरहेका २२ जनालाई प्लाष्टिक टनेल वितरण गरिएको छ । उनीहरुको जिवीकोपार्जन र व्यवसायीक विकासका लागि सघाउ पु¥याउन हौसला स्वरुप प्लाष्टिक टनेल प्रदान गरिएको हो । उनीहरुलाई शुक्रबार गाउँपालिका उपाध्यक्ष गुरुराज राईले प्लाष्टिक टनेल हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्