News Portal

नीति नै नमिल्ने शक्तिबिचको तालमेल औचित्यहीन : डा भट्टराई

रातोपोस्ट संवाददाता
२१३ पटक

काठमाडाैँ, २१ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विचार, सिद्धान्त र नीति नै नमिल्ने शक्तिहरुबीचको तालमेल औचित्यहीन रहेको बताएका छन्। स्थानीय निर्वाचनपछि गृहजिल्ला आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकारसँगको भेटमा स्वभाव नमिल्ने दलहरुसँगको गठबन्धन ठिक नभएको बताए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको अस्वस्थ संघर्ष र गठबन्धनभित्र इमान्दारिता नहुँदा जसपा धेरै पालिकामा हार्न पुगेको उनले बताए। माओवादी र कांग्रेसले इमान्दारिता नदेखाएका उनको आरोप छ। उनले भने, ‘गठबन्धनभित्र पनि इमान्दारिता भएन। एक पटक भएको निर्णय कार्यान्वयन गरेर जानुपथ्र्यो, माओवादी र कांग्रेसले त्यो गरेनन्।’

नेपालको निर्वाचन प्रणालीअनुसार चुनावी तालमेल र गठबन्धन आवश्यक रहेपनि बिचार र स्वभाव नमिल्ने दलहरुबिचको गठबन्धन भने ठिक नभएको उनले बताए। ‘आधारभूत नीति नै नमिल्ने शक्तिबिचको तालमेलले क्षणीक लाभ होला ! सरकार त बन्छ, तर काम गर्न सक्दैन,’ भट्टराईले भने। वैचारिकरुपमा एकरुपता र निटकता भएका शक्तिबिचको गठबन्धन वा चुनावी तालमेल मात्र दिगो हुने उनको धारणा छ। ‘पटक्कै बिचार नै नमिल्ने, विपरीत दिशामा हिँड्ने शक्तिहरु एक ठाउँमा आउँदा गतिहिनता र अस्तव्यस्तता आएको छ। यसलाई पुनर्विचार गर्नुपर्छ,’ उनले थपे।

अहिलेको निर्वाचन प्रणालीलाई बदल्ने हो भने मात्र गठबन्धन आवश्यक नपर्ने अध्यक्ष भट्टराईले बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदीय प्रणालीमा मुलकलाई लैजानुपर्ने उनले बताए। ‘त्यो नभएसम्म अहिलेको मिश्रीत प्रणालीबाट कसैको बहुमत आउँदैन,’ भट्टराईले भने।

प्रतिकृया दिनुहोस्