News Portal

झापा जिल्लाको बाह्रदशीमा १२ कक्षासम्म निःशुल्क शिक्षा

रातोपोस्ट संवाददाता
३१३ पटक

झापा, २२ जेठ । बाह्रदशी गाउँपालिका प्रदेश नं. १, झापा जिल्लाको दक्षिणी भेगमा अवस्थित छ । नेपाल सरकारको पछिल्लो राज्य पुनर्संरचना, २०७३ ले साबिक गाउँ विकास समितिहरू राजगढ, चकचकी र डाँगीबारीलाई समावेश गरी बाह्रदशी गाउँपालिका नामकरण गरिएको हो । यसको भौगोलिक अवस्था हेर्दा दक्षिणमा कचनकवल गाउँपालिका, पूर्वमा हल्दीबारी गाउँपालिका, उत्तरमा बिर्तामोड र कन्काई नगरपालिका तथा पश्चिममा झापा गाउँपालिकाको समथल भूमिसँग जोडिएको छ ।

बाह्रदशी गाउँपालिका समुद्री सतहबाट ७७ मिटरदेखि १ सय २३ मिटरसम्मको उचाइमा अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ८०.४ वर्गकिलोमिटर छ भने कुल जनसख्या ३९ हजार ६ सय २२ छ ।बाह्रदशी गाउँपालिका ७ वटा वडामा विभाजन भएको छ, जसमा दक्षिणतिर राजगढ रहेको छ । जहाँ वडा नं. १, २ र ३ रहेका छन् भने मध्यभूभागमा चकचकी रहेको छ, जहाँ वडा नं. ४ र ५ रहेका छन् । त्यसैगरी उत्तरी भूभागमा डाँगीबारी रहेको छ, जहाँ वडा नं. ६ र ७ रहेका छन् ।

बाह्रदशी गाउँपालिकाभित्र विभिन्न जातजाति र विभिन्न धर्म सम्प्रदायका मानिसहरूको बसोबास रहेको छ । दक्षिणी भूभागमा आदिवासी जनजातिको बाहुल्यता रहेको छ भने मध्य र उत्तरी भूभागमा अन्य जातिको बाहुल्यता रहेको छ ।बाह्रदशी गाउँपालिकाका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन् भने केही व्यापार–व्यवसायमा समेत आबद्ध छन् । बाह्रदशी गाउँपालिकाको दक्षिणी भूभागमा राजगढ बजार रहेको छ भने मध्यभागमा चकचकी बजार र उत्तरी भूभागमा डाँगीबारी बजार रहेको छ ।बाह्रदशी गाउँपालिकाभित्र जम्मा १६ वटा सामुदायिक र १३ वटा संस्थागत विद्यालय रहेका छन् भने ५ वटा स्वास्थ्यचौकी रहेका छन् ।बाह्रदशी गाउँपालिकाभित्र अवस्थित सामुदायिक र संस्थागत विद्यालयहरूले यस गाउँपालिकाभित्रका बालबालिकाहरूलाई सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएका छन् भने यहाँ अवस्थित स्वास्थ्यचौकीहरूले स्थानीयवासीलाई सर्वसुलभ तरिकाले औषधि–उपचारको व्यवस्था गरेको छ ।

बाह्रदशी गाउँपालिकाको यातायात गुरुयोजनाले यस बाह्रदशी गाउँपालिकाभित्र ३ सय २५ वटा सडकखण्ड पहिचान गरेको छ ।बाह्रदशी गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य राजमार्ग खण्डसहित यस योजनाले पहिचान गरेका कुल सडकहरूअन्तर्गत ए क्लास ३१ किमि, बी क्लास ५२ किमि, सी क्लास ५३ किमि र डी क्लास २ सय ४८ किमि रहेको छ भने पहिचान गरेको कुल लम्बाइ ३ सय ८४ किमि छ । जसमध्ये ६ किमि कालोपत्रे, १ सय २४ किमि ग्राभेल र २ सय ५३ किमि धुले र कच्ची सडकहरू रहेका छन् । औद्योगिक क्षेत्र हेर्ने हो भने यहाँ घरेलु तथा साना उद्योगहरू ज्यादै न्यून रहेको पाइन्छ ।वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरूले बाह्रदशी गाउँपालिकाको मुहार फेरेका छन् । पाँच वर्षको अवधिमा ह्युमपाइप, काठेपुलहरूलाई विस्थापित गरी आवश्यक स्थानमा पुल कल्भर्ट, झोलुङ्गे पुल निर्माण गरिएको छ । साँघुरा बाटाघाटा फराकिला र सुविधासम्पन्न बनाइएको छ, जसले सहज रूपमा आवागमन गर्न सजिलो भएको छ ।

प्रत्येक विद्यालयमा घेराबारा, सुविधासम्पन्न कक्षाकोठा, शौचालय, भौतिक संरचनाले पूर्णता पाइसकेको छ । विद्यालयहरूमा स्कुल पोसाक बालबालिकाहरूलाई सुविधासम्पन्न कक्षाकोठा, शौचालय, खेलमैदान र खेलौना सामग्री व्यवस्थित गरिएको छ ।स्वास्थ्य क्षेत्रमा पनि राजगढ, चकचकी र डाँगीबारी तीन स्थानमा ल्याब सेवा, चौबीसै घण्टा प्रसूति सेवालगायत सबै वडामा प्राथमिक उपचार सेवाकेन्द्रसमेत सुचारु भइसकेको अवस्था छ । विद्युतीय क्षेत्रमा पनि उज्यालो बाह्रदशी बनाउन ठूलो लगानी गरेर सफल भएको अवस्था छ । त्यसैगरी ५ सय मिटर ३० फुुटे सडक बेसमा डे«न निर्माणसमेत भएको छ ।यसरी विकासको पथमा अगाडि बढ्दै जाँदा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट बाह्रदशी गाउँपालिकाले नयाँ निर्वाचित जनप्रतिनिधि पाएको छ । बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देविन्द्रप्रसाद चम्लागाईं र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेल निर्वाचित भएका छन् ।

त्यस्तै वडाध्यक्ष र वडासदस्यसमेत निर्वाचित भएका छन् भने कार्यपालिकामा समेत ६ जनालाई मनोनीत गरी बाह्रदशी गाउँपालिकालाई पूर्णता दिइएको छ ।बाह्रदशी गाउँपालिकाले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित देविन्द्रप्रसाद चम्लागाईंले बाह्रदशी गाउँपालिकाको पहिलो बैठकमा यस्तो निर्णय गरेका हुन् ।बाह्रदशी गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयमध्ये तीनवटा विद्यालयमा ११ र १२ कक्षाको पठनपाठन भइरहेको बाह्रदशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईंले बताए । उनले बाह्रदशी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

आर्थिक अभावका कारण धेरै विद्यार्थीले कक्षा १० सम्मको अध्ययन पूरा गरी बीचैमा पढाइ छाड्ने समस्या देखिएको र त्यसलाई रोक्दै सबै विद्यार्थीलाई सहज रूपमा कक्षा १२ सम्म पठनपाठन गराउन बाह्रदशी गाउँपालिकाले यस्तो निर्णय गरेको बाह्रदशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईंले बताए ।शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको बताउँदै अहिले बाह्रदशी गाउँपालिकाको वडा नं. ३ को पशुपति मावि, वडा नं. ५ को फूलबारी मावि र वडा नं. ७ को गौरीशंकर माविमा कक्षा ११–१२ को पढाइ हुने गरेको र ती विद्यालयमा अध्ययनरत १ हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने बाह्रदशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईंले बताए ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा भएकोे पहिलो बैठकले विभिन्न पाँचवटा समिति गठन गरेको छ । मनबहादुर राजवंशीको संयोजकत्वमा आर्थिक विकास समिति, पञ्चानन राजवंशीको संयोजकत्वमा सामाजिक विकास समिति, लक्ष्मी निरौला अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार विकास समिति, महताव आलमको संयोजकत्वमा वातावरण तथा विपद् व्यवस्थापन समिति र तारा थपलियाको संयोजकत्वमा क्षमता विकास तथा सुशासन समिति गठन गरेको बाह्रदशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईंले बताए ।विभिन्न उपसमितिहरू गठन गरिएको बताउँदै अब गाउँपालिकाको बैठक बसेर बजेट निर्माणमा लाग्ने बाह्रदशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईंले बताए ।

स्वास्थ्य क्षेत्रमा पनि राजगढ, चकचकी र डाँगीबारी तीन स्थानमा ल्याब सेवा, चौबीसै घण्टा प्रसूति सेवालगायत सबै वडामा प्राथमिक उपचार सेवाकेन्द्रसमेत सुचारु भइसकेको र चकचकी, राजगढ र डाँगीबारी स्वास्थ्य केन्द्रबाट सेवा उपलब्ध गराउने गरी निःशुल्क भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गरिएको बाह्रदशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईंले बताए । बाह्रदशी गाउँपालिकाको समग्र विकास र समृद्धिमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस्