News Portal

सामाजिक सञ्जालमा आएका कलको भरमा कसैलाई पनि पैसा नपठाउनुहोस्, ठगिनुहोला !

रातोपोस्ट संवाददाता
२८८ पटक

काठमाडौं, २२ जेठ । सामाजिक सञ्जालको प्रयोग जति बढ्दो छ, यसबाट हुने अपराध पनि फरक-फरक स्वरूपमा बढिरहेका छन् । हिजो जुन तरिकाका साइबर अपराध हुन्थे, आज त्योभन्दा केही नयाँ शैलीबाट घटना भइरहेका छन् । त्यसैले हामी जहिले सजग र सचेत रहन आवश्यक छ ।

ह्वाट्सएप, भाइबर, इमोजस्ता मेसेन्जर एपमा तपाईंलाई यति लाखको चिट्ठा परेको छ भन्दै ठगी भइरहेका घटना नौलो होइन । अहिले उही प्रकृतिका घटना फेसबुकमा हुन थालेका छन् ।फेसबुकमा विभिन्न चर्चित व्यक्तिका भिडिओ लाइभ बनाई त्यसबाट ठगी हुने गरेकाे पाइएकाे छ ।

केही दिनअघि ग्यालेक्सी फोरकेका महाप्रबन्धक तथा सञ्चारकर्मी रवि लामिछानेको विगतको लाइभ भिडिओ एउटा नक्कली आईडीबाट फैलियो । जसमा लामिछानेले ग्यालेक्सी फोरकेमा आउने एक कार्यक्रमका बारेमा जानकारी दिइरहेकाे देखिन्छ ।त्यही भिडिओको अर्को भागमा केही अङ्कहरू मिसाएको फोटो टाँसेर क्याप्सनमा छिटो सही उत्तर मिलाउनेलाई रकम उपहार दिने लेखिएको छ ।

त्यसपछि विभिन्न व्यक्तिको इन्बक्समा तपाईंले सही उत्तर मिलाएबापत् एक लाख रकम उपहार छ र सोही रकम पाउन कर तिर्नुपर्ने भन्दै ठगी गरिरहेको घटना ग्यालेक्सी फोरकेको कार्यक्रम सिधा कुराको भाग १०३ मा सार्वजनिक भयो ।त्यस्तै विभिन्न व्यक्तिलाई त्यस्ता आईडीबाट मेसेज गरी तपाईंलाई चिट्ठा परेको छ र सो रकम प्राप्त गर्न कर तिर्नुपर्ने भन्दै मानिसहरूलाई ठगी गरेकाे पाइएकाे छ ।

ती मानिसहरू जसले आफूले जितेको रकम पाउन इन्बक्समा गरेको मेसेजको प्रतिक्रिया नआएपछि सो रकम लिन ग्यालेक्सी फोरकेको कार्यलयमा आएको लामिछानेले सो कार्यक्रममा बताएका छन् ।नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसी सामाजिक सञ्जालमा त्यस्ता ठगीका घटना देखे तुरुन्त १०० मा फोन गरेर वा साइबर ब्युरोमा उजुरी गर्न आग्रह गर्छन् ।

उनका अनुसार ह्वाट्सएपमा आउने त्यस्ता नम्बरहरू निश्चित समयका लागि प्रयोगमा ल्याइएकाे हुन्छ । एकपटक उनीहरूको योजना सफल भयो भने उनीहरूले त्यो नम्बर सधैँका लागि बन्द गर्ने गर्छन् । वा त्यस्ता नम्बरहरू भारतीय सीमावर्ती नाकाबाट परिचालन भइरहेका हुन्छन्, जहाँ नेपाली सिमको नेटवर्क आउँछ । जसले गर्दा नेपाली नागरिकलाई नेपाली नम्बरबाट आएको भनेर विश्वास दिलाउँछन् ।

विभिन्न कार्यक्रममा जितेको रकम पाउन बैङ्क अथवा स्थानीय डिजिटल वालेट जस्तै ई-सेवा, खल्ती आदिमा पठाउन आग्रह गर्ने र त्यसरी उपहार वा जितेको चिट्ठा पाउन मानिसहरू मोटो रकम दिएर ठगीमा पर्नसक्ने उनले बताए ।त्यस्ता घटनाबाट बच्न कसैले पनि सामाजिक सञ्जालमा आएका प्रलोभनमा नपर्न केसी सुझाव दिन्छन् । यदि सामाजिक सञ्जालमा त्यस्ता घटना देखे तुरुन्त नेपाल प्रहरीको नम्बर १०० मा फोन गरी घटनाको जानकारी दिनसक्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्