News Portal

पल्लोटारीका पहिरोपीडित दुई वर्षदेखि टहरामै

रातोपोस्ट संवाददाता
३४२ पटक

लमजुङ,२७ जेठ । दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका-३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै अधुरै छ । नयाँ घरमा सर्ने ठूलो सपना रहेको पहिरोपीडित विष्णुमाया अछामीले बताइन् । दुई वर्षको बर्खा टहरामै बितेको उनको गुनासो छ । पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन् । २०७७ साउन ७ र ८ गते पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो ।पहिरोले ५४ घर उच्च जोखिममा परे ।

गाउँका चार सय जना एकैपटक विस्थापित भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी तरापुको देविथानमा राखियो । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था, स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरिएको थियो । पटक–पटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाए । दुई वर्ष बित्न लाग्यो तर पीडितको नयाँ घरमा बस्ने सपना भने पुरा भएन । परिहोमा परी घाइते भएकी सिर्जना गोतामेले आफूहरू दुई वर्षदेखि टहरामै बसेको बताउँछिन् । उनी भन्छिन्, पहिरोले घर नै पुरियो बर्खा लाग्यो टहरामा कसरी बस्ने हो ।

पहिरो पीडितका लागि घर बनाउन जग्गाको व्यवस्थापन भई पुनर्निर्माण सुरु भएता पनि अझै घर नबन्दा पहिरोपीडित चिन्तामा छन् ।पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर चालु आर्थिक वर्षमा पुनर्निर्माण हुनेछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो पीडितसँग घर पुनर्निर्माणका लागि सम्झौता भई पुनर्निर्माण भइरहेको बताए । घर बनाउन लाभग्राहीले ४ लाख ५० हजार रुपैयाँका दरले पाउनेछन् । यसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुनेछ ।

प्रतिकृया दिनुहोस्