News Portal

पर्साको एक सरकारी विद्यालय : जहाँ विद्यार्थीको चाप थेग्न हुन्छ दुई सिफ्टमा पढाई

रातोपोस्ट संवाददाता
२९२ पटक

वीरगंज, ४ असार । सरकारी स्कूल भन्ने बित्तिकै विद्यार्थी कम हुन्छन् भनिन्छ। तर पर्साको धोबिनी गाउँपालिका ५ स्थित धोबिनीमा रहेको अजिज मिया माविको माहोल फरक छ।पढाउने कक्षाकोठाको अभाव छ तर विद्यार्थीको यही ओइरिएको देखिन्छ। कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा साढे १५ सय विद्यार्थी छन्।

विद्यालयको भौतिक संरचनाले विद्यार्थीको संख्य धान्न नसकेपछि पढाईमा समस्या भइरहेको प्रधानाध्यापक जितेन्द्र रामले बताए। ‘विद्यार्थी संख्या बढ्दै जाँदा दुई सिफ्टमा पढाउनुपरेको छ। बिहान र बेलुकै स्कूल चलाउनु परेको छ,’ उनले भने, ‘एउटा कक्षामा एक सयदेखि डेढ सयको हाराहारीमा विद्यार्थी छन्। दुई सिफ्टमा सञ्चालन गर्दा समेत एउटा कोठामा ६० भन्दा बढी विद्यार्थी बसाउनुपर्छ।’

विद्यालयमा हाल तीन वटा भवन रहेको र जसमा कुल ११ वटामात्र कोठा रहेका छन्। जसमध्ये राम्रो कोठामात्र ७ वटा रहेको प्रधानाध्यापक रामले बताए।पर्याप्त कक्षाकोठा तथा फर्निचरको अभावले पठनपाठनमा समस्या भइरहेको उनले बताए। कक्षा कोठाको लागि थप १० कोठे भवनको शिलान्यास गरिएको छ।

मधेश प्रदेशको चालू आवबाट समपुरक अनुदानबाट ३० लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख गरी कुल ६६ लाखबाट १० कोठे भवन निर्माणको वडा नं ५ का वडा अध्यक्ष मनवर अहमदले शिलान्यस गरेका हुन्। वडा अध्यक्ष अहमदले सरोकारवाला निकायसँग विद्यायलयलाई फर्निचर सहयोग गर्न अपिल गरेका छन्।८ कठा जमिनमा सञ्चालनमा रहेको विद्यालयलाई गाउँकै फजिल अहमदले थप ५ कठा जग्गा दान गरेसँगै क्षेत्रफल बढेको छ।

प्रतिकृया दिनुहोस्