काठमाडाैँ, ७ असार । गर्जो टार्नका लागि लिएको ऋण चुक्ता गर्ने क्रममा ‘मिटरब्याज’ले उठीबास लगाएपछि पश्चिम नवलपरासीका पीडितहरू काठमाडौँको माइतीघर मण्डलामा अनशन बसेर राज्यको ध्यानाकर्षण गराइरहेका छन् ।यिनैमध्येकी एक हुन् आश्मा खातुन । आठ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहेकी उनले ६ वर्ष अगाडि एउटा सानो घर बनाउने सपनाले लिएको ८ लाख रुपैयाँ ऋणले आफूलाई उठीबास लगाएको बताइन् ।
श्रीमानले कतारमा कमाएर पठाएको १० लाख रुपैयाँ चुक्ता गरिसकेकी उनले जग्गा बेचेर थप एक लाख २३ हजार रुपैयाँ पनि बुझाइन् । ‘साहुले अझै १५ लाख रुपैयाँ बाँकी छ भन्छन्,’ उनले भनिन् । त्यो पैसा नदिए धितो राखेको जग्गा लिलाम गरिदिने धम्की दिएको उनले सुनाइन् । आफूले तिरेको पैसाको कुनै कागजपत्र पनि नदिएको उनको गुनासो छ ।
त्यसैगरी किशोरीदेवी चमारले पनि छोरालाई मलेसिया पठाउन १ लाख ५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । उक्त रकम आफूले एक वर्षमा फिर्ता गरेको उनले बताइन् । उमेरले करिब ६० वर्षकी उनी बुढेसकालमा मिटर ब्याजले उठीबास लागेर सडकमा आउनु परेको बताउँछिन् । ‘साँवा ब्याजसहित ५ लाख बुझाइसकेँ तर अझै ५ लाख मागेको छ,’ उनी भन्छिन् । साहुले १५ कट्ठा जग्गा रोक्का गरिदिएको उनले गुनासो गरिन् ।
त्यस्तै, हृदयस कुर्मीले २०६६ सालमा विदेश जान ३ लाख रुपैयाँ ऋण लिएका थिए । उनले आफ्नो ऋणको साँवा र ब्याजसहित हालसम्म २० लाख ३८ हजार ५०० रुपैयाँ बुझाइसके । तर साहुले अझै नौ लाख रुपैयाँ बाँकी भएको बताएको उनको भनाइ छ । उनी भन्छन्, ‘जग्गाको पुर्जा कब्जामा राखिदिएपछि खेतीपाती गर्न पाएको छैन, के गरेर खाने ?’ पैसा नदिए साहुले त्यो जग्गा बेचिदिने धम्की दिएको उनले दुखेसो गरे विदेश जान डेढ लाख रुपैयाँ ऋण लिएको र ६ वर्ष विदेश बस्दा कमाएको १२ लाख दिँदा पनि चुक्ता नभएको अर्का पीडित राजकुमारले बताए । भएको जमिनसमेत बेचेर पैसा तिरेको, अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायका लागि काठमाडौँमा आउनुपरेको उनको भनाइ छ ।
उनले भने ‘मलाई विदेश पठाउन बुबाले साहुसँग १ लाख ५० हजार रुपैयाँ लिनुभएको थियो । विदेशमा भएको ६ वर्षको कमाई १२ लाख तिरिसक्यौँ तर अझै चुक्ता भएको छैन भनेर साहुले भन्छ, हामीलाई न्याय चाहियो ।’अर्का पीडित जयप्रकाश कुर्मीले छोरालाई विदेश पठाउन एक लाख रुपैयाँ ऋण लिएका थिए । तर एक लाख ऋण दिएर दुई लाखको तमसुक बनाएको उनको आरोप छ ।
यस्तै, रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भएपछि तमसुक माग्दा समेत नदिएको बताए । प्रभु कोइरीले दुई लाख ऋण लिएका थिए तर तमसुक ४ लाखको बनाएको थियो । अहिले १० लाख दिएमात्रै तमसुक फिर्ता दिने कुरा आएको उनले बताए । सुस्ता क्षेत्रका जग्गा नदी कटान क्षेत्र भएकाले बैंकले त्यसलाई धितो राख्न मान्दैन । त्यसैले बैंकबाट ऋण नपाएपछि दलालसँग ऋण लिनुपर्ने बाध्यता छ ।
नवलपरासीका दाजुभाइ जगदिश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई यसरी मिटर ब्याजमा ऋण दिई कयौंको उठीबास लगाएको पीडितहरूको आरोप छ । २ लाख रुपैयाँ ऋण लिँदा १५ लाखसम्म असुलेको भन्दै पीडित पक्षले माइतीघरमा आन्दोलन थालेका हुन् ।आन्दोलनमा करिब २५ जना सहभागी छन् । बानियाँ दाजुभाइले ४०० भन्दा धेरै ऋणीलाई शोषण गरेको उनीहरूको आरोप छ । बानियाँको परिवारले १५ वर्षदेखि मिटर ब्याज चलाउँदै आएको उनीहरूको आरोप छ ।
पीडित किशोरीदेवीले आफूहरू बाध्य भएर सङ्घर्षमा उत्रिनु परेको बताइन् । उनले भनिन्, ‘साहुले सडकमा ल्याएर छोडिदिएको छ, हामीसँग पैसा छैन ।’प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले तराइ मधेसमा मिटर ब्याजको समस्याले विकराल रूप लिएको बताए । उनी भन्छन्, ‘यो एक प्रथाको रूपमा बढेको छ । यो समस्याले लामो समयदेखि जरा गाडेर बसेको छ ।’आफ्नै पालिकाका ५ परिवार अनशनमा बसेकाले उनीहरूको अवस्था बुझ्न आफू काठमाडौँ आएको उनले बताए । ‘मिटर ब्याजले निमुखा जनता पिल्सिएका छन् । यसमा स्थानीय तह र राज्य सबै निकाय गम्भीर हुनुपर्छ,’ उनले भने ।
यस्ता मामिला स्थानीय सरकारले हेर्ने र स्थानीय तहबाट केही उपलब्धि नभएमा केन्द्रमा आउनुपर्ने भन्दै उनले स्थानीय तहमा यस्तो समस्या लिएर नआएको बताए । जिल्ला प्रशासन कार्यालयमा दुईवटा निवेदन परेको र यो विषय अदालतमा पनि पुगिसकेका कारण प्रशासनले हस्तक्षेप नगरेको उनको भनाइ छ ।पछिल्लो समय साहुले साँवा तिर्नुस्, ब्याज मिनाहा भयो भन्ने गरे पनि पीडितहरू पहिले नै ६० प्रतिशत ब्याज लिइसकेको बताउँछन् ।
आन्दोलनमा आएका केही ज्येष्ठ नागरिकले आफूले लिएको ऋण नाति पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जा गरी भूमिहीन बनाएको बताए । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ‘मिटर ब्याज लिन पाइँदैन, जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरू खबरदार, मिटर ब्याज लिनेलाई कारबाही गर,’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । आफ्नो समस्या सम्बोधन नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।