News Portal

गायक विपुल क्षेत्री ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित

रातोपोस्ट संवाददाता
२२८ पटक

काठमाडौं, १५ असार । गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित सांगितिक अवार्ड ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित भएका छन्। क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफू ग्रामीको सदस्यमा मनोनित भएको जानकारी दिएका हुन्। अवार्ड आयोजक समितिले विश्वभरका दुई हजारभन्दा धेरै सर्जकलाई सदस्यमा मनोनित गर्दा क्षेत्री पनि परेका हुन्। उनी संगीत क्षेत्रको अस्कर मानिने ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित हुने पहिलो नेपाली भाषी गायक हुन्।

‘तपाईंका साथीहरुले तपाईंलाई २०२२ को सदस्यताका लागि उपयुक्त व्यक्तिको रुपमा छानेकोमा बधाई छ,’ क्षेत्रीलाई पठाइएको बधाई सन्देशमा भनिएको छ, ‘यो निम्तो तपाईंले सांगीतिक कला क्षेत्रमा दिएको योगदान, सिर्जनशिलता र नेतृत्वको प्रतिबिम्ब हो।’
ग्रामीको सदस्यता पाएसँगै क्षेत्रीले अब ग्रामी अवार्डका लागि मतदान गर्न पाउनेछन्।

युवा पुस्तामाझमा निकै चर्चित नेपाली मुलका दार्जिलिङका गायक क्षेत्रीले सन् २०१४ मा ‘स्केच अफ दार्जिलिङ’ नामक एल्बमबाट आफ्नो करिअर सुरु गरेका थिए। उनका ‘सिण्डिकेट’, ‘डढेलो लाग्यो’, ‘भेट भयो आज हामी’जस्ता गीतहरु निकै चर्चित छन्।

प्रतिकृया दिनुहोस्