News Portal

राजापाक्षेको राजीनामा नआएसम्म प्रदर्शनकारी राष्ट्रपतिनिवासबाट नबाहिरिने

एजेन्सी
३३१ पटक

काठमाडाैँ, २७ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे कहाँ छन् भन्ने जानकारी अझै दिइएन लाखौँ प्रदर्शनकारी ओइरिएर राष्ट्रपतिनिवास कब्जा गरेको र प्रधानमन्त्रीको निजी घरमा आगो झोसेको अर्काे दिन आइतबार भने श्रीलंकाको सडक दिनभर शान्त रह्यो । आइतबार श्रीलंकामा कुनै अप्रिय घटना भएनन् । तर, राष्ट्रपतिनिवास र उनको प्रशासकीय भवन अझै प्रदर्शनकारीको नियन्त्रणमा छ । उनीहरू राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा आधिकारिक रूपमा नआएसम्म यी ठाउँ नछोड्ने अडानमा छन् ।

नागरिकको धैर्यको बाँध फुटेपछि दुई दशकदेखि श्रीलंकाको शासनसत्तामा हालीमुहाली गरिरहेको राजापाक्षे वंशको राजनीति अन्त्यको सन्निकट देखिएको छ । सभामुख महिन्दा यपा एविवर्दनाले शनिबार साँझ ट्विट गरेर राष्ट्रपति गोटावाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघे दुवै राजीनामा दिन सहमत भएको जानकारी प्रवाह गरेका थिए । सभामुखले राजापाक्षेको राजीनामाको निर्णयलाई शान्तिपूर्ण शक्ति हस्तान्तरणको सुनिश्चितताका रूपमा अथ्र्याएका छन् । सत्ताको सहज हस्तान्तरणलाई सुनिश्चित गर्न सभामुखले प्रदर्शनकारीलाई शान्ति कायम राख्न आग्रह पनि गरेका छन् ।

अब थप आन्दोलन आवश्यक छैन, देशका लागि म सबैलाई सहज संक्रमणका लागि शान्ति सुरक्षा कायम राख्न अनुरोध गर्छु,’ सभामुखले भनेका छन् । तर, राष्ट्रपति आफैँले भने यस्तो कुनै सार्वजनिक वक्तव्य दिएका छैनन्, न त उनी कतै देखा परेका छन् । अझै पनि उनी कहाँ छन् भन्ने जानकारी सार्वजनिक गरिएको छैन । १३ जुलाईमा उनले राजीनामा दिने भनिए पनि आशंका मेटिएको छैन । यसले सत्ताको संक्रमणलाई अनिश्चितताले घेरेको देखिन्छ ।

प्रधानमन्त्री विक्रमासिंघेले आफूले राजीनामा दिने भने पनि नयाँ सरकार नबनुन्जेल आफू पदमै रहने बताएका छन् । ‘अहिले मुलुकमा इन्धनको संकट छ, खाद्य अभाव छ । विश्व खाद्य संगठनका प्रमुख आउँदै छन् । आइएमएफसँग पनि थुप्रै विषयमा छलफल गर्नुछ,’ विक्रमासिंघेको तर्क छ, ‘यसकारण यो सरकारले छोड्दा अर्काे सरकार हुन आवश्यक छ ।’ तर, उनको यो रणनीतिले तत्काल बहिर्गमनको माग गरिरहेका प्रदशर्नकारीलाई आक्रोशित बनाउन सक्ने जोखिम छ । अबको केही दिन श्रीलंकाको राजनीतिक माहोल अत्यन्त तरल रहने राजनीतिक विश्लेषकहरू बताउँछन् । उनीहरूलाई अझै पनि यी दुवै नेताले भनिएअनुसार नै राजीनामा गर्नेमा आशंका छ । राजापाक्षेले आफ्नो क्षति कम गर्न नयाँ बन्ने सरकारलाई आफूअनुकूल बनाउने प्रयास गर्नेछन् । यसले पनि शक्ति शान्तिपूर्ण रूपले हस्तान्तरण होला भन्नेमा आशंका देखिन्छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिए सभामुखमा कार्यकारी शक्ति

संविधानअनुसार विक्रमासिंघे र राजापाक्षे दुवैले राजीनामा दिए भने अधिकतम ३० दिनका लागि श्रीलंकाका सभामुख कार्यवाहक राष्ट्रपतिका रूपमा पदमा आउनेछन् । यसबीचमा संसद्ले सांसदमध्येबाट नयाँ राष्ट्रपतिको चयन गर्नुपर्नेछ । यसरी चुनिएको राष्ट्रपतिले वर्तमान राष्ट्रपतिको कार्यकालको बाँकी अवधिको दुई वर्ष पदमा रहन पाउनेछन् । विपक्षी सांसद रउफ हाकिमले पनि सभामुखलाई कामचलाउ राष्ट्रपति बनाउने र अन्तरिम सरकारको काम चलाउने विषयमा सबै सहमत रहेको भनेका छन् ।

श्रीलंकाको राष्ट्रिय राजनीतिको यो संकटलाई लिएर अन्य मुलुकले भने अहिलेसम्म टिप्पणी गरेका छैनन् । तर, अमेरिकी सिनेटको विदेश मामिला समितिले भने राजापाक्षेले जनताको विश्वास गुमाइसके भन्ने ट्विट आइतबार गरेको छ । ‘राजापाक्षेले आफ्ना जनताको विश्वास गुमाइसके । अब सबै पार्टीले नागरिकको लोकतान्त्रिक एवं आर्थिक अपेक्षाहरूको सम्मान गर्ने र श्रीलंकाली जनताको मानव अधिकारको संरक्षण गर्ने नयाँ सरकारका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्नुपर्छ,’ समितिले भनेको छ, ‘सेना र प्रहरीले संयम अपनाएर समाधानको हिस्सा बन्नुपर्छ, समस्या होइन ।’

भारतले श्रीलंकाका नागरिकलाई आफ्नो सदैव सहयोग रहने भनेर साहानुभूति देखाउन खोजेको छ । श्रीलंकाका सेनाप्रमुख शुभेन्द्र सिल्भाले जारी राजनीतिक संकटलाई शान्तिपूर्ण समाधान गर्ने यो अवसर भएको भन्दै नागरिकको सहयोग खोजेका छन् । श्रीलंकाको यो राजनीतिक तरलता अराजकतामा नबदलियोस् भन्नेमा धेरैको चिन्ता देखिन्छ । श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघेको निजी आवासमा गरिएको आगजनीको अनुसन्धान गर्न प्रहरीले सिआइडीलाई जिम्मा दिएको छ । आगजनीको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । शनिबारको प्रदर्शनमा तीन हजार पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

प्रतिकृया दिनुहोस्