News Portal

अनलाइनखबरको सम्पादकमा बसन्त बस्नेत नियुक्त

रातोपोस्ट संवाददाता
३५७ पटक

काठमाडौं,१ साउन । अनलाइनखबरडटकमको सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन् । अनलाइनखबर नेपाल प्रा.लि. सञ्चालक समिति बैठकले बस्नेतलाई सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अनलाइनखबरडटकममा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष धर्मराज भुसाल र प्रधानसम्पादक शिव गाउँलेले बस्नेतलाई स्वागत गरे ।सो अवसरमा बस्नेतले नेपालको अग्रणी अनलाइन सञ्चार संस्थामा काम गर्न पाउँदा आफू उत्साहित भएको बताए । ‘अनुभवी र निष्ठावान प्रधानसम्पादकको नेतृत्वमा रहेको सक्षम समाचार कक्षमा सहकार्य गर्न पाउँदा म उत्साहित छु’ बस्नेतले भने, ‘उहाँको नीतिगत मार्गदर्शनमा आगामी दिनमा समाचार र विचार पस्कने काममा हामी नयाँ उचाइ हासिल गर्ने प्रयास गर्नेछौं ।’

सम्पादक बस्नेतलाई स्वागत गर्दै अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँलेले एकजना अनुभवी र सक्षम युवा सम्पादकलाई अनलाइनखबरको समाचार कक्षमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । ‘विश्वसनीय, सन्तुलित र न्यायपूर्ण पत्रकारिताको हाम्रो यात्रा अब झन् प्रभावकारी रूपमा अघि बढ्छ’ प्रधानसम्पादक गाउँलेले भने, ‘बेथिति, भेदभाव, अन्याय र विभेद माथि प्रश्न गर्ने काम हामी झन् सशक्त रूपमा गर्नेछौं ।’

कार्यक्रममा अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक सुरेश भुसालसहित सम्पादकीय सहकर्मीहरूको उपस्थिति थियो ।१२ वर्षदेखि पत्रकारितामा सक्रिय बस्नेतले यसअघि कान्तिपुर दैनिकमा राजनीतिक संवाददाता, नागरिक दैनिकमा रिपोर्टिङ तथा सम्पादनको कार्य गरिसकेका छन् ।

यसैगरी उनले अन्नपूर्ण टुडेमा सम्पादक र अन्नपूर्ण पोस्ट दैनिकमा समाचार सम्पादक,नेपाल म्यागेजिनमा सम्पादक र शिलापत्रडटकममा प्रधान सम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।बस्नेतका मधेश आन्दोलनको सेरोफेरोमा लिखित ‘७२ को विस्मय’ र पूर्वी पहाडको परिवेश समेटिएको चर्चित उपन्यास ‘महाभारा’ प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस्