काठमाडौ, १६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द `विप्लव´ सहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगाएत विभित्र जिल्लाका २८ जना नेता विरुद्ध ललितपुर जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेकाे छ।
हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा आराेपमा पक्राउ पुर्जी जारी गरेको हो। महासचिव विप्लव, मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई गरि ५ जना विरुद्ध हात हतियार तथा खरखजाना मुद्दामा पक्राउ पुर्जी रहेको छ भने विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरूद्धको अपराध मुद्दामा विप्लव र प्रकाण्ड विरुद्ध पक्राउ पुर्जी छ।
उक्त मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको र उक्त म्याद भित्र अदालतमा उपस्थित हुन ललितपुर जिल्ला अदालतले सार्वजनिक गरेकाे पक्राउ पुर्जीमा उल्लेख छ।
यद्यपि अदालतले दिएकाे ३५ दिन भित्र अदालतमा उपस्थित नभएको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ दफा ६५ अनुसार प्रक्रिया हुने समेत पक्राउ पुर्जी मार्फत अदालतले चेतावनी समेत दिएकाे छ।