सुर्खेत, ३० श्रावण । लागूऔषध ब्राउनसुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट श्रीमान्-श्रीमतीसहित चार जना पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।
प्रहरीले उनीहरूको घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउनसुगरजस्तो देखिने ४७ ग्राम ६२० मिलिग्राम फेला पारी बरामद गरिएको उनले बताए ।यस्तै रु २६ हजार ३०० बरामद गरी उक्त दम्पतीलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।
त्यसैगरी, कर्णाली प्रदेश प्रहरी कार्यालय लागुऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले आइतबार नै वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत घिमिरे डाँडाबाट सात पुरिया लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी ३१ वर्षीय भीमबहादुर रोकाया र ९ निवासी २५ वर्षीया जीवनकली थापा घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।