News Portal

घनश्याम भुसालद्वारा एमाले परित्याग

रातोपोस्ट संवाददाता
२८१ पटक

काठमाडौं, २२ असाेज । नेककपा एमालेका नेता घनश्याम भुसालले एमाले परित्याग गरेका छन् । केपी ओलीको नेतृत्वमा पार्टी नसुध्रिने निश्कर्षसहित भुसालले एमाले परित्याग गरेका हुन् ।

एमाले छाडेका भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी अगाडि बढाएका छन् । नेकपा एमाले केपी ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको भुसालको निश्कर्ष छ ।

भुसालले भनेका छन्, ‘अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले- केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ ।’

एमालेलाई सुधार गर्न सकिन्छ भन्ने आफ्नो प्रयास खेर गएको निश्कर्षसहित भुसाल भन्छन्, ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’पार्टी परित्यागको घोषणा गर्दै भुसालले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–

देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो ।

आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनावद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।
नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।
घनश्याम भूसाल
मणिग्राम, रुपन्देही
२०७९ असोज २२

प्रतिकृया दिनुहोस्