News Portal

आजदेखि उम्मेदवार तथा राजनीतिक दलहरूले खुला प्रचार गर्न पाउने

रातोपोस्ट संवाददाता
३३३ पटक

काठमाडौं, १७ कार्तिक । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ । आयोगका अनुसार आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।

बुधबारसम्म दल र उम्मेदवारले सीमित घरदैलो कार्यक्रम गर्दै आएका थिए । खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहा पनि सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिन गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा केन्द्रित हुने भएका छन् । गृहजिल्ला डडेलधुरामा हुने चुनावी सभा र कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा गृहप्रदेश सुदूरपश्चिम पुगिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ सहित पार्टीका प्रचार कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि देश दौडाहामा निस्किँदै छन् ।​ निर्वाचन प्रचारको दोस्रो चरण बिहीबारदेखि सुरु हुने भएपछि आयोगले दलहरूलाई आचारसंहिता पालनामा ध्यान दिन पुनः आग्रह गरेको छ। आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आवश्यक प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्