News Portal

झापा १– गठबन्धनका उम्मेद्वार जिताउन मतदाता आतुर

रातोपोस्ट संवाददाता
५६७ पटक

झापा, २४ कार्तिक । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन १० दिन बाँकी रहँदा गठबन्धन दलका उम्मेदवार थप उत्साहका साथ मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् ।
मतदान गर्ने दिन नजिकिँदै जाँदा मतदातासमेत गठबन्धनलाई भरोसा गर्न थालिसकेका छन् । उनीहरु आफ्ना समस्यालाई गठबन्धनले सम्बोधन गरे आफूहरुको पूर्ण सहयोग रहने उम्मेदवारलाई विश्वास दिलाइरहेका छन् ।

झापा क्षेत्र नम्बर १ मा रहेका मतदाताले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र विकासका काममा लाग्न उम्मेदवारलाई सुझाइरहेका छन् । बिहीबार प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विश्वप्रकाश शर्मा र प्रदेश (क) का उम्मेदवार गोपाल तामाङ मेचीनगर–५ स्थित सामुदायिक पोस्ट हार्भेस्ट पुग्दा स्थानीयको उल्लेख्य उपस्थित रहेको थियो ।

घरदैलो कार्यक्रम सुरु हुनुपूर्व आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका शर्माले गठबन्धन दल र एमालेसहितका मतदाताको विश्वास र आशिर्वादले भारी मतका साथ विजयी हुने विश्वास व्यक्त गरे । ‘आफूहरु निर्वाचित भएपछि पहिलो माला जेष्ठ नागरिकलाई लगाउनेछौँ,’ शर्माले भने, ‘जेष्ठ नागरिक हाम्रा अभिभावक हुन् । पहिलो सम्मान हामी अभिभावकलाई गर्छौं ।’

सो अवसरमा प्रदेश (क) का उम्मेदवार गोपाल तामाङले आफू सामाजिक क्षेत्रमा लामो समय क्रियाशील रहेको बताए । उनले आफूहरु यस क्षेत्रको विकास गर्न आतुर रहेकाले विश्वासका साथ मत दिन आग्रह गरे । घरदैलो अभियान श्रमिक टोल, शान्ति टोल, सहकारी र शिवालय टोलमा सञ्चालन भएको हो । त्यसैगरी, बिहीबार नै मेचीनगरको वडा नम्बर–२ स्थित संगम चोक, जोगी डाँडा, मगर डाँडालगायतका क्षेत्रमा घरदैलो गरिएको छ । वडा नम्बर–३ स्थित दोकान डाँडा, हात्तीसुँडे, बडाखाल लगायतका क्षेत्रमा घरदैलो अभियान सम्पन्न भएको हो ।

घरदैलो अभियानमा उम्मेदवारसहित सम्बन्धित वडाका वडा सभापति नगर तथा क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । मेचीनगर–५ को घरदैलो अभियानमा नेपाली काँग्रेस प्रदेश (क) का सभापति हरि बुढाथोकी, क्षेत्रीय सह–सचिव दीपक काफ्ले, नगर उपसभापति योगेन्द्र थापा, वडा सभापति नारायण खड्कालगायत नगर तथा क्षेत्र र वडाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यस्तै, गठबन्धनदलका उम्मेदवारहरुले मेचीनगर–८ का विभिन्न टोलमा पुगेर मतदातालाई भेटेका छन् । मतदातकाका समस्या सुन्न र मत माग्न पुगेका झापा–१ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मालाई मतदाताले ठाउँ–ठाउँमा अविर र माला पहिर्याएर जीतको लागि शुभकामना दिएका छन् । शर्माले नेपाली काँग्रेसको नीति निर्माण तहमा बसेर आफु काम गरिरहेकाले अब आफ्नो ठाउँ बनाउने अभियानमा अघि बढेको र आगामी दिनमा देशको प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य रहेको उनले मतदातालाई बताउँदै आएका छन् ।

शर्मा मतदाताको घर–घर पुग्दा जेष्ठ नागरिकदेखि युवाहरु उत्साहित बनेका थिए । घरदैलो अभियानमा प्रदेश (क) उम्मेद्वार गोपाल तामाङले मतदाताले दिएका मतको उच्च मूल्यांकन गर्दै विकास निर्माण अभियानमा लागि पर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्