News Portal

कमरेड ! विश्वप्रकाश कसरी ‘पादरी’ भए ?

राजेन्द्र गाैतम
२८७ पटक

शर्मा सधैँ रातो वा पहेँलो टीका लगाएर मात्र घरबाट बाहिर निस्किन्छन् । टीका लगाउनुअघि पूजापाठ गर्छन्, देवीदेवतालाई सम्झन्छन् । शंख फुक्छन्, पितृको स्मरण गर्छन्– यो कमरेडले नदेखेको भित्री पाटो हो ।

अहिले देश निर्वाचनको मात्र होइन, मतदान नै गर्ने दिनको संघारमा छ । आफ्नो मतबाट असल मान्छे, असल प्रतिनिधि छान्ने र तिनै प्रतिनिधिबाट देशको समग्र परिवर्तन गर्ने चाहना हरेक मतदातामा छ । यो अब्बल कर्ममा जुटेका मतदातालाई आफ्नो पक्षमा उभ्याउन निकै कठिन छ, हुन्छ । तर, उम्मेदवार त्यही भगीरथ कसरत गरिरहेका छन्, जो उनीहरूको जिम्मेवारी हो । आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्य पूरा गर्दैगर्दा अर्काको स्वतन्त्रता र भावनामा ठेस पुग्नुहुन्न । सँगै कसैको उपस्थितिलाई अस्वीकार गर्न किमार्थ मिल्दैन ।

तर, झापा– १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका विद्वान् अधिवक्ता ‘कमरेड’ अग्नि खरेलले शालीन प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई किटेर जुन अभिव्यक्ति दिए, र भावावेशमा आएर ‘पादरी’ भने, त्यो निर्लज्ज र निकृष्ट अभिव्यक्ति हो । विद्वान् कमरेड विश्वप्रकाशको प्रतिस्पर्धी मात्र होइनन्, उनी मुलुकको कानुनमन्त्री र महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालिसकेका जिम्मेवार व्यक्ति पनि हुन् । मुलुकका लागि उनको विद्वता जरुरी छ । हामीले त्यही कामना गर्ने हो ।

तर, हाम्रो साझा कामनामा उनको अभिव्यक्तिले गम्भीर आघात पुर्‍याएको महसुस हुन थालेको छ । लोकतन्त्रमा विश्वास गर्ने र लोकतान्त्रिक अधिकारलाई शालीन ढंगले उपयोग गर्ने व्यक्तिले अरूको सर्वथा सम्मान गर्छन् । लोकतन्त्रवादीलाई विरोधसँग किञ्चित डर लाग्दैन । तर, विरोध स्वस्थ, शालीन र सभ्य हुुनुपर्छ भन्नेमा पनि लोकतन्त्रवादी त्यत्तिकै सचेत र सजग हुन्छन्, यसमा कोही नअलमलिए हुन्छ ।

चुनाव एउटा प्रक्रिया र पाटो हो । चुनावी मैदानमा उत्रिएपछि कि हार हुन्छ कि जित । यो चुनावको नियम हो । लोकतन्त्रको सुन्दर पक्ष पनि त्यही हो । जितलाई उन्मादका रूपमा नलिने र हारलाई निराशाका रूपमा नभई स्वाभाविक परिणामका रूपमा लिन सक्ने ल्याकत लोकतन्त्रवादीसँग छ, हुन्छ र रहिरहने छ ।

लोकतन्त्रवादी व्यक्तिगत रूपमा आक्षेप र दोषारोपण कसैलाई गर्दैनन्, त्यो उनीहरूको चरित्र पनि होइन । कसैले त्यस्तो गर्‍यो भने लोकतन्त्रमा विश्वास गर्नेहरू खुलेर त्यसको प्रतिवाद गर्छन् । जो आन्तरिक र सार्वजनिक दुवै हुन सक्छ । पंक्तिकार लोकतन्त्रमा विश्वास गर्छ । यसमा बढी केही पर्गेल्नु पर्दैन । अहिको चुनावी धमाधममा यो विषय थप स्पष्ट पारिरहनु आवश्यक पनि छैन । पंक्तिकार एउटा विचार र आस्थामा आबद्ध छ । जो व्यक्तिको जन्मसिद्ध अधिकार हो । र, पंक्तिकारले अरूको आस्था र विचारलाई पनि त्यत्तिकै सम्मान गर्छ, त्यो चाहिँ उसको कर्तव्य हो ।

यसमा कोही कसैलाई अथ्र्याइरहनु पर्दैन । पंक्तिकारले उजागर गर्न खोजेको विषय पनि यहीसँग सम्बन्धित छ । धार्मिक आस्था र विश्वास हरेक व्यक्तिको निजी कुरा हो । को कुन धर्म मान्छ, त्यो उसको वैयक्तिक अधिकार हो । विद्वान् कमरेडले शालीन शर्मालाई सार्वजनिक रूपमा पादरी भनिदिएपछि पंक्तिकारको मनमा खुल्दुली मच्चियो । चुनावी मैदानमा रहेका प्रतिस्पर्धीलाई अर्को प्रतिस्पर्धीले यस्तो लान्छना सार्वजनिक रूपमा लगाउन सुहाउँछ ?

सामान्य मानिसले लान्छित गरेको थियो भने सार्वजनिक रूपमा प्रश्न गर्नु खासै पर्दैन थियो होला ! तर, कानुनको पूर्ण जानकार, कानुन निर्माणमा महत्वपूर्ण देन पुर्‍याइसकेकै व्यक्तिबाट कसैको धार्मिक आस्थामाथि प्रहार गरिनु शोभनीय हुन सक्दैन, हुँदैन । विश्वप्रकाशलाई के मानेमा पादरी भनियो, त्यो भन्नेले जान्ने विषय हो । तर, एउटा कुरा हरेक व्यक्तिले मथिङ्गलमा सञ्चित गरिराख्न चाहिँ जरुरी छ । शर्मा दसैँमा टीका लगाउँछन् । मान्यजनबाट आशीर्वाद थाप्छन्, त्यो छर्लङ्ग देखिएको पाटो हो ।

योसँगै शर्मा तिहारमा दिदीबहिनीको हातबाट निधारमा सप्तरंगी टीका र गलामा माला लगाउँछन् । दिदीबहिनीसँग भावना साटासाट गर्छन् । यसपटकको दसैँ र तिहारमा पनि देखिएको दृश्य यही हो । सनातनी धर्मको अनुयायी कसरी पादरी भयो ? मेरो सार्वजनिक प्रश्न हो । कानुनका जानकार कमरेड झापा– १ का मतदातालाई यसको सार्वजनिक जवाफ दिनु तपाईंको दायित्वभित्र पर्छ कि पर्दैन ?

विश्वप्रकाश पंक्तिकारले मतदान गर्ने व्यक्ति भएर र तपाईंप्रति पूर्वाग्रही बनेर यो लेख लेखिरहेको छैन । शर्मा दसैँ, तिहार मात्र मान्दैनन्, केही दिनअघि झापाका थुप्रै खोला किनारमा पुगेर छठ पर्वमा सबैसँग भेटघाटसँगै एकता प्रदर्शित गरेको दृश्य धेरैको मानपटलमा ताजै छ ।

एउटा दृश्य कमरेडलाई पनि राम्रो हेक्का हुनुपर्छ– विश्वप्रकाश अघिअघि र तपाईं पछिपछि कुनै खोला किनारमा घुमेको । सबैसँग दुवैले भावना साटासाट गरेको । अनि अहिले तिनै विश्वप्रकाश तपाईंको नजरमा कसरी पादरी बने ? यो फगत आरोप किन र केका लागि ? चुनावमा स्वस्थ प्रतिस्पर्धा गरौँ, परिणाम स्वीकार्न विश्वप्रकाश किञ्चित डगमगाउँदैनन् । विगतका दुइटा चुनावमा उपविजेता बन्दै गर्दा शर्माले विजेतालाई फूलमाला लगाएर अंकमाल गरेका तस्बिरहरू अहिले पनि हराएका छैनन् ।

विश्वप्रकाशलाई दसैँ, तिहार मान्ने धार्मिक स्वतन्त्रता संविधानले प्रदान गरेको छ । त्यही अधिकार उनले उपभोग गर्छन्, जो सफा पर्दामा हेरिने सिनेमाको दृश्यझैँ प्रष्ट छ । तपाईंलाई अर्को कुरा पनि स्मरण रहोस्– शर्मा सधैँ रातो वा पहेँलो टीका लगाएर मात्र घरबाट बाहिर निस्किन्छन् । टीका लगाउनुअघि पूजापाठ गर्छन्, देवीदेवतालाई सम्झन्छन् । शंख फुक्छन्, पितृको स्मरण गर्छन्– यो कमरेडले नदेखेको भित्री पाटो हो ।

शर्माले आफ्ना पिता पर्शुराम र माता सावित्राको श्राद्ध गर्छन् । श्रद्धाभक्तिपूर्ण ढंगले गरिएका यी कर्मका तस्बिरहरू सामाजिक सञ्जालमा प्रशस्तै देखिएका हुन् । यो उनको सनातनी धार्मिक कर्मप्रतिको प्रमाण हो । कमरेड यी सारा दृश्य तपाईंले पनि देखेकै हो । अनि यस्तो व्यक्ति कसरी पादरी हुन्छ ? शालीन जबाफको अपेक्षा गर्नु पंक्तिकारका लागि अवश्य गल्ती होइन । त्यही शालीन जबाफको अपेक्षा झापा– १ का मतदाताले तपाईंबाट गरेका हुन् । यो चाहिँ तपाईंले बुझ्न र महसुस गर्न सके अहित कसैको हुँदैन ।

प्रतिकृया दिनुहोस्