News Portal

झापाका शीर्ष नेताहरूले यी स्थानबाट गर्दैछन् मतदान

रातोपोस्ट संवाददाता
२५४ पटक

झापा, ३ मंसिर । झापाबाट उम्मेदवार दिएका शीर्ष नेताहरूमध्ये केहीले आफ्नै र केहीले अरू निर्वाचन क्षेत्रबाट मतदान गर्ने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेका नेता अग्निप्रसाद खरेल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला आफूलाई मतदान गर्न नपाउने भएका छन्।

अन्य शीर्ष नेताहरूले आफूलाई मतदान गर्न पाउने छन्। झापा-१ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले मेचीनगर-९ स्थित कविशिरोमणि माविमा मतदान गर्नेछन्। झापा-१ बाटै प्रतिनिधिसभा उम्मेदवार अग्नि खरेल झापा क्षेत्र नम्बर-२ को बिर्तामोडस्थित देवी माविमा मतदान गर्नेछन्।

झापा-२ मा गठबन्धनबाट माओवादी चुनाव चिह्न लिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हरिकुमार रानाले महारानीगञ्ज मावि सालवारि, एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले अर्जुनधारा-६ स्थित बाल कल्याण आधारभूत विद्यालय देवी बस्तीमा मतदान गर्नेछन्।

झापा- ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा- १ मा मतदान स्थल रहेको भद्रपुर-१० स्थित कलवलगुडी आधारभूत विद्यालयमा र प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन हल्दिवारी-१ नम्बर वडा कार्यालय गोल धापमा मतदान गर्ने छन्।

सिटौलाले आइतबार बिहान ७ बजे र लिङदेनले बिहान ११ बजे मतदान गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यस्तै झापा-४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका देउमान थेबे झापा गाउँपालिका-४ स्थित सितुमारी प्रावि कुमरखोद र नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार एलपी सावाँ शिवसताक्षी-९ स्थित सतासीधाम आधारभूत विद्यालय दुधेमा मतदान गर्ने भएका छन्।

झापा–५ मा उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मतदान गर्न नपाउने भएका छन्। ओलीको मतदाता नामावली भक्तपुर-२ मा रहेकाले ओली मतदानका लागि काठमाडौंमा छन्। त्यस्तै झापा-५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले देवी मावि जामुवाडीबाट मतदान गर्ने छन्।

प्रतिकृया दिनुहोस्