News Portal

देउवाले पार्टीलाई पहिलो बनाए, धेरै लिन्छु भन्दा सबै गुमाए !

रातोपोस्ट संवाददाता
२०१ पटक

काठमाडौं, १० पुस । नेकपा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ता र शक्तिबाट सम्पूर्ण रूपमा बाहिर रहने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार पाँच दलबीच भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो । अन्य दुई दल पनि थपिएर यो संख्या ७ पुगेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत महत्त्वपूर्ण पदको भागबण्डा भने पछि गर्ने सहमति भएको छ ।

‘एमालेले राष्ट्रपति र सभामुख लिने भद्र सहमति भएको छ, आज समय नभएकाले छलफल गर्न पाएनौं,’ बालकोट बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने । दुई ठूला वामपन्थी र अन्य साना दल मिलेर सरकार बनाएपछि प्रतिनिधिसभाको पहिलो दल कांग्रेस भने सत्ताबाहिर रहने भएको छ ।

कांग्रेससँगै १० सीट रहेको नेकपा एस पनि बाहिर रहने भएको छ । प्रतिनिधिसभा र केही प्रदेशसभामा पहिलो दल बने पनि अब कांग्रेस सम्पूर्ण रूपमा सत्ताबाहिर रहने देखिएको हो । प्रतिपक्षमा रहँदा कांग्रेसले एउटा मात्र पद पाउँछ त्यो हो– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति । प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिन अस्वीकार गरेपछि कांग्रेस सत्ताच्युत हुने भएको हो । सर्वोच्च अदालतको परमादेशले केपी शर्मा ओलीलाई हटाइदिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए ।

नेतृत्वको अक्षमताले सत्ता गुमाएको भन्दै कांग्रेसका नेताहरूले आक्रोश जनाउन थालेका छन् । ‘बुझेकै हो, बुझ्नेले स्वाहाको बाटो रोजेपछि …’ कांग्रेस नेता चन्द्र भण्डारीले सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेखेका छन् ।

प्रतिकृया दिनुहोस्