News Portal

शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु, एक घाइते

रातोपोस्ट संवाददाता
४३३ पटक

झापा, १७ पुस । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते बनेका छन् । शिवसताक्षी नगरपालिका -११ स्थित बच्चाबगरमा आज बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।

आज बिहान साढे २ बजे जङ्गली हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गरी भण्डारी गम्भीर घाइते भएकी थिइन् ।

घाइते अवस्थाकी कृष्णमायालाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान् शान्तिराम पनि गम्भीर घाइते भएका छन् । रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलबाट आहाराका लागि जङ्गलबाट हात्ती गाउँ पसेका थिए । केही दिनदेखि शिवसताक्षी नगरमा हात्तीले मानिसको जनधनको क्षति गर्न थालेको छ ।

एउटा छावा सहित ४ वाटको समूहमा रहेको हात्तीले राति ११ बजेदेखि नै गाउँमा उपद्रो गर्न लागेको स्थानीयको भनाई छ । आहाराका लागि छावा भण्डारण गरिएका अन्न खान घरभित्र पस्ने र माउ हात्तीले छावालाई घर बाहिर निकाल्दा घर भत्काउने गरेको स्थानीयाको भनाई छ । हात्तीले अन्य एक जना छिमेकीको समेत घर भत्काएको छ । जङ्गली हात्तीको समूह अहिले पनि शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बजारमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्