News Portal

खोलाकाे बगरमा बाहुनडाँगीका किसानले सुरु गरे बहुमूल्य वनस्पति खेती

रातोपोस्ट संवाददाता
२७१ पटक

झापा, १७ पुस । झापाकाे मेचीनगर-४ स्थित बाहुनडाँगीका किसानले वनस्पती खेती सुरु गरेका छन् । मेचीनगर-४ को बाहुनडाँगीस्थित पूर्वी सीमा भारतसँग जोडिएको मेची खोला बगर छेउ करिब ३० बिगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा वनस्पती खेती सुरु गरेका हुन् ।

खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ । हर्बल उद्योगको ४० लाख रुपैयाँ लगानीमा स्थानीय ३३ जना किसानले आफ्नो ३० बिगाह जग्गामा औषधिका रुपमा रहेको वनस्पती लेमनग्रास र सिट्रोलेनाको खेतीमा लागेका छन् ।

चितवनबाट ४ लाख लेमनग्रास र सिट्रोलेनाका बिरुवा ल्याइएको संस्थाका सञ्चालक समिति सदस्य कुन्दन निरौलाले बताए । यसलाई बिस्तार गरेर भविष्यमा मेचीनगर-१, ४ र ६ का करिब १ सय बिगाह जग्गामा खेती गरिने संस्थाको योजना छ । ‘रोपेको तीन महिनामा यसले उत्पादन दिन थाल्ने छ’, निरौलाले भने-‘जेठदेखि भदौ महिनासम्ममा तयार हुन्छ । १ बिगाहा खेतीमा ६ टनजति तेलका लागि औषधिजन्य घास उत्पादन हुनेछ । किसानबाट प्रतिकेजी ८ रुपैयाँले खरिद गरिने छ ।’

एकपटक रोपेपछि ७ वर्षसम्म यसले उत्पादन दिइरहने संस्थाको भनाई छ । संस्थाले किसानबाट खरिद गरेको उत्पादनलाई उद्योगमा प्रोसेसिङ गरेर तयार गरिएको कच्चा पदार्थ (तेल) लाई काठमाडौँमा बिक्री गरिने निरौलाले जानकारी दिए । सो तेल प्रतिलिटर १८ सयले बिक्री गरिने उनको दाबी छ । सो तेलबाट सन्चो, ओखतीलगायतका औषधिजन्य वस्तुहरु बन्ने बताइएको छ ।

संस्थाले आइतबार किसानहरुलाई भेला गरेर त्यस सम्बन्धी अन्तरक्रिया गरेको छ । हात्तीबाट पीडित किसानहरुले आफ्नो जग्गामा थोरैभए पनि धान खेती गरिरहेका थिए । आफ्नो जग्गामा वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती सुरु गरेका छन् । आम्दानी हुने हो की होइन भनेर चिन्ता लिएका थिए । किसानहरुलाई जडिबुटि खेती गर्न प्रोत्साहित गरेका संस्थाका अध्यक्ष राजु दाहाल, समिति सदस्य निरौलाले धान खेतीभन्दा बढी आम्दानी हुने दाबी गरेका छन् । संस्थाले किसानहरुको आम्दानीको ग्यारेन्टी गरिदिने समेत बताएका छन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, समाजसेवी सनतकुमार अधिकारी, हरि उप्रेती, महेन्द्र मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए । औषधिजन्य वनस्पती खेती विस्तार सम्बन्धीका विज्ञ दिपक नेपालले किसानहरुलाई प्रशिक्षणसमेत दिएका थिए । महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको स्वागत समितिका सदस्य कुन्दन निरौला र सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्