News Portal

झापाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

रातोपोस्ट संवाददाता
२३३ पटक

झापा, २० पुस । जिल्ला प्रहरी कार्यालयमा आएका नयाँ प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागूऔषध नियन्त्रणलाई प्राथमिकता दिएसंगै प्रतिबन्धित लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । सोमबार र मंगलबार झापाको विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

सोमबार दिउँसो १ः५० बजे झापा गाउँपालिका वडा नं १ सुकुम्बासी टोलमा प्रहरी चौकी टाँघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शंका लागेर मे. ८ प ५३४४ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा कन्काई नगरपालिका वडा -५ बस्ने अन्दाजी २२ वर्षीय गौरव चुँडाल र वडा- ४ बस्ने अन्दाजी ४४ वर्षीय भिमबहादुर बस्नेत ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर र १ थान डिजिटल तराजु फेला परेकोले मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए । यस्तै, सोमबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा-६ भट्टराई चौकमा पैदल हिँडिरहेका सोही ठाउँ बस्ने २८ वर्षीय दिलिप लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ । त्यस्तै मंगलबार दिउँसो २ बजे झापा गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २३ वर्षीय बामदेव मिश्र पक्राउ परेका छन् ।

प्रहरीले उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी पाठकले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्