News Portal

आर्थिक अभावका कारण भट्टराईको उपचारमा समस्या, परिवारद्वारा सहयोगको अपिल

रातोपोस्ट संवाददाता
२४३ पटक

झापा, २२ पुस । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउंपालिका बर्ष- ४२ की रमा भट्टराई (रामप्यारी ) लाई उपचारमा समस्या भएको छ ।

ताप्लेजुङ घर भई हाल बिर्तामोड- ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो । उनको २ दिन देखि बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

९ बर्ष अघि नै घर छोडेर हिडेका उनका श्रीमानको अहिले सम्म अत्तो पत्तो छैन । ३ वटा छोरी र १ जना छोराकी आमा भट्टराई अहिले उपचारकालागि सबैसंग हार गुहार मागिरहेकी छिन् ।

उनी ज्यालादारीमा अलैंची कटिङ गरेर आफ्नो छोराछोरीको पठाई खर्चसँगै घर चलाउंदै आएकी थिइन् । तर उनी अहिले थलिएसँगै बाल बच्चाको पनि पठाईसँगै घर खर्चमा समस्या भएको उनी बताउंछिन् । उनी करीब ४ –५ बर्षदेखि बिरामी छिन् ।

उनी बिर्तामोड- ५ स्थित व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईको घरमा बस्दै आएकी छन् । उनको दयनिय अवस्था देखेर निर्मलले निशुल्क रुपमा करीब ६ बर्षदेखि एउटा कोठा उपलब्ध गराउँदै आएका छन् ।

काम गर्न नसक्ने अवस्थामा रहेकी उनी अहिले थलिएसँगै आफुलाई बचाइदिन उनले अस्पतालको शैयाबाट सबैलाई आग्रह र अनुरोध गरेकी छन् ।

व्यवसायी तथा समाजसेवी निर्मलका अनुसार सबै साथीभाई सहित आफन्तहरुले सहयोग जुटाएर अहिले सम्म उनको उपचारमा झण्डै १५ लाख रकम खर्च भइसकेको छ ।

चिकित्सकको भनाईलाई उद्धत गर्दै भट्टराईको आफन्त शान्ता विष्टका अनुसार केहि बर्ष अघि उनको टाउकोमा ब्लड जमेको थियो । त्यसको उपचारकालागि उनलाई बिराटनगर लगिएको थियो ।

उनको त्यो समस्या निर्मुल भए पनि अहिले उनलाई फोक्सोमा समस्या तथा मुटुमा प्वाल रहेको र दाँया पट्टिको ब्रेनको एउटा नसा सुकेको र कोलस्टोर पनि ४५० भन्दा माथि पुगेको चिकित्सकले बताएका छन् । बिष्टका अनुसार चिकित्सकले उनको उपचारकालागि अहिले मोटो रकम लाग्ने बताएका छन् ।

उनलाई क्यानसर नभए पनि फोक्सोमा गाँठाहरु रहेको चिकित्सकले बताएका छन् । भने केहि रिपोटहरु उनको आउन बाँकि रहेको बताइएको छ । पैसाको जोहो गर्न सके उनी चाँडै सामान्य अवस्थामा फर्कन सक्ने चिकित्सकले बताएका छन् ।

अहिले सम्पत्तिका नाममा उनको केहि पनि छैन । रामप्यारीको उपचारका लागि सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन् । सहयोगका लागि बिरामी भट्टराईको छोरी मनुका भट्टराईको नाममा एनआइसी एसीया बैंक बिर्तामोड शाखामा रहेको खाता नम्बर ००९५७५११८९१६०००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

त्यस्तै उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनको छोरीको मोवाईल नम्बर ९८१८६७४६५४ मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्