News Portal

विर्तामोडमा राष्ट्रिय भाक्का दिवस भव्यताका साथ मनाईयो

रातोपोस्ट संवाददाता
२०४ पटक

झापा, २९ पुस । झापाको विर्तामोडमा छैटौँ राष्ट्रिय भाक्का दिवस भव्यताका साथ मनाईएको छ । प्रत्येक बर्ष पुस २९ गते मनाईदै आएको राष्ट्रिय भाक्का दिवस यसपालि पनि विर्तामोडको सिटी सेन्टरमा भव्यताका साथ मनाइएको हो ।

राजवंशी समाज विकास समितिले आयोजना गरेको छैटौँ राष्ट्रिय भाक्का दिवसको अवसरमा पूर्वी नेपालबासीले तातो भाक्काको स्वाद लिने मौका पाएका हुन्। भाक्का दिवसको अवसरमा छिमेकी मुलुक भारतबाट पनि पाहुनाहरू विर्तामोड आएका थिए ।

भाक्कालाई मनपर्दो स्वाद अनुसार गुलियो वा नुनिलो पारी खाजाको रुपमा खान सकिन्छ । विशेष गरी तराईमा बस्ने आदिवासी थारु र राजवंशी समुदायको परम्परागत तथा रैथाने खाजाको रुपमा रहेको भाक्का पछिल्लो समय पहाडी तथा अन्य समुदायले पनि खाने गरेसंगै भाक्काको प्रवद्र्धनमा आफुहरु लागेको राजवंशी समाजका अग्रजहरु बताउँछन् ।

भक्का प्रति सबै समुदायका मानिसहरु आकर्षित हुन थालेसंगै अहिले थुप्रै महिलाहरु भाक्का बेचेर राम्रो आम्दानी गर्दै आफ्नो परिवारको गुजरा समेत चलाउन सफल भइरहेका छन् । भाक्का नरम हुने हुनाले बच्चा वृद्ध एवम् युवा सबै वर्गमा लोकप्रिय छ ।

यसलाई बजारी करण गर्न सके राजवंशी समुदायको पहिचान पनि रहने व्यपार व्यवसाय पनि हुने भएका कारण बर्षेनी राष्ट्रिय भाक्का दिवसको अवसरमा भक्का प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु गर्दै आएको आयोजक राजवंशी समाज विकास समितिका पूर्व अध्यक्ष टोप राजवंशी बताउँछन् ।

भाक्का दिवसको उद्घाटन सत्रमा श्री श्री १००८ हिमालयन पिठाधिश्वर स्वामी विरेन्द्रानन्द महामण्डलेश्वर जुना अखडा, भारतको लोकसभाका सांसद नवकुमार सह्रानिया, नेपाल हिन्दुराष्ट्र पुनस्थापना मञ्चका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डा. विष्णु बराल, जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक रुगमबहादुर कुवरलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राजवंशीका परम्परागत भाक्काका परिकार, हुदुरधुरा, नेटुवा, पचालीलगायतका नृत्यसमेत प्रदर्शन गरिएको थियो।

प्रतिकृया दिनुहोस्