News Portal

खोरमा थुनिएका धनकुमार राईको उद्धार, उपचारको लागि नगरपालिकाकाे पहलमा चितवन लगियो

रातोपोस्ट संवाददाता
१६७ पटक

झापा, १४ माघ । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । नगरपालिकाले शुक्रबार मेचीनगर १२ स्थित खोरमा थुनिएर बस्न बााध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेललगायतको टोलिले उपचारका लागि चितवन पठाएको छ ।

मानसिक रोगी हिडडुल समेत गर्न नसक्ने अवस्थाका राईलाई परिवारले घर नजीकै सानो खोरमा हालेर राखेको थियो । मानसिक रोगी असहाय धन कुमारको केहिदिन अघि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीसहित मेचीनगर १२ का वडाध्यक्ष मधुसुदन निरौला, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेललगायतको टोलीले घरमै पुगेर स्वास्थ्यलगायतको विविध विषयमा जानकारी लिएरका थिए । साथै उनलाई तत्काल खोरबाट बाहिर निकालेको थिए ।

बाहिर राख्दा कुटपिट गर्ने, घर छाडेर हिड्ने, हिडेपछि फर्केर नआउने गरेका कारण धनकुमारलाई खोरमा थुनेर राख्न बाध्य भएको उनको बुबा जीवन राई बताउँछन् । उनका अनुसार छोरालेले खोरमै खाना खाने, खोरमै दिसा पिसाब गर्ने गर्थे । आर्थिक अवस्था कमजोर रहेका कारण समयमा नै छोरालाई उपचार गराउँन सकिएको थिएन । तर, अब नगरपालिकाले उद्धार गरी छोरालाई उपचारका लागि चितवन पठाएपछि निको हुने आश पलाएको बताए ।

नगरपालिकाले उनको उपचार गर्ने गरी २०७९ साल पौष १ गते बसेको कार्यपालिकाको बैठकले एकलाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको थियो । उनको उपचारका लागि नगरपालिकाकोतर्फबाट चितवनको खैरहनी नगरपालिका ११ गैंडाहामा रहेको ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रि पठाइएको नगर प्रमुख बुढाथोकीले बताए । शुक्रबार बिरामी धनकुमारलाई ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रिकका डाक्टर गिरीराज भन्तानालगायतको टोली नगरपालिकामा नै पुगी थप उपचारका लागि चितवन लगेको हो ।

प्रतिकृया दिनुहोस्