मेचीनगर, २८ बैशाख । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले देशमा अझै पनि जात व्यवस्था जर्जर अवस्थामा रहेको दावी गरेका छन् । महाकाली–मेची साइकल यात्राी पत्रकार महिलाहरुलाई सम्मान गर्दै अध्यक्ष विश्वकर्माले देशका कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा जात व्यवस्थाको मजवुद जरा रहेको जनाए ।
‘देशै भर यो अमानीय अपराध छदैछ’,विश्वकर्माले भने,‘यी तीन प्रदेश अझै धेरै छ ।’ उनले जातीय विभेदको स्थिति कहालीलाग्दो भएपनि निरास भइहाल्ने अवस्था भने नरहेको जनाए । उनले २०५२ सालमै लागू भएको दलितले थर÷गोत्र लेख्न पाउने अधिकार अझैसम्म कार्यान्वयन हुन नसकेको दावी विश्वकर्माको थियो ।
२०२० को मुलुकी ऐन दलित अधिकारका लागि कोसेढुंगा रहेको जिकिर गरेका विश्वकर्माले थपे,‘जातीय छुवाछुतलाई कानुनले दण्डनीय गरे पनि कानुन कार्यान्वयन भने फितलो भयो । जसले दलितलाई न्याय पाउन कठीन भयो ।’
राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले पछिल्लो समय विभेदको रुपमा फेरिएको जनाए । उनले विगतमा जस्तो सोझै विभेद गर्ने परिपाटी नभएपनि घुमाउरो पारामा विभेद गर्ने काम अझ तीव्र गतिमा वृद्धि भइरहेको दावी गरे । पहाडीले थपे,‘धारा,कुवामै विभेद गर्ने स्थितिको त अन्त्य भइसक्यो तर अन्य शैलीमा विभेद जारी नै छ ।’
राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेश र झापा जिल्ला समितिले साइकल यात्री पत्रकार महिलााहरु रिता बुढाथाकी, संगीता नेपाली र इन्दिरा विश्वकर्मालाई सम्मान गरेको थियो । गत वैशाख ६ गते महाकालीको गड्डाचौकीवाट यात्रा शुरु गरेका उनीहरु २० दिनपछि मंगलवार सा“झ पूर्वको मेची आइपुगेका थिए ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मिलन परियार, पहिलो पत्रकार साइकल यात्री मुक्ति पौडेल, प्रेसयुनियन कोशीका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, दलित समन्वय समिति मेचीनगरका निवर्तमान अध्यक्ष ध्रुव कनाल, एमाले झापाकी सदस्य निरु परियार, नारी संचार गृहकी सचिव मायामितु न्यौपाने, एकीकृत सरकारी कर्मचारी संगठनका झापा अध्यक्ष निरोज कट्टेल, संचार प्रतिष्ठान मेचीनगरका अध्यक्ष शिविर चम्लागाई, तीनै जना साइकल यात्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दलित समन्वय समिति मेचीनगरका अध्यक्ष टोलवहादुर सुनार (नारायण) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार पर्वत पोर्तेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन राष्ट्रिय दलित पत्रकार संघ झापाका अध्यक्ष प्रदीप परियारले गरेका थिए ।