रातोपोस्ट संवाददाता
मेचीनगर, ३० वैशाख । मेचीनगरमा सञ्चालन भइरहेको निशुल्क स्वास्थ शिविरमा एक सय १८ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
वडा नं ९ स्थित मेचीनगर साकोसको भवनमा यतिबेला शिविर सञ्चालन भइरहेको छ । जसमा अहिलेसम्म एक सय १८ जनाले स्वास्थ्य जाँच गराएका हुन् । मेचीनगर नगरपालिका वडा नं ९ को आयोजनामा सञ्चालित शिविरको आज एक कार्यक्रमका बिच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै आयोजक समेत रहेको वडा नं ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले वडाको २ लाख रुपैँया बजेटमा सञ्चालित शिविरमा वडावासीले लाभ लिइरहेको बताए । स्थानीय हरिहलेसी मेडिकल हलको प्राविधिक सहयोग रहेको शिविरमा निशुल्क औषधी वितरण गरिनेछ ।