News Portal

मेचीनगरमा ‘खडेरीले सुक्न थाले मकै’

रातोपोस्ट संवाददाता
४९३ पटक

झापा, ३१ वैशाख । ‘मकै त गाईवस्तुले पनि नखाने किसिमको भइसक्यो, प्रकृतिले पनि किन किसानलाई नै ठग्न खोज्छ ?’ मेचीनगर ८ प्रगतिशिल टोलका किसान मेगाराज भारती निराश हुँदै मकैबारी हेर्दै टोलाउनुहुन्छ । निरास नहुनुह पनि कसरी ? अँधिया खेत लिएर एक विगाहमा लगाएको मकै खडेरीले स्वाहा भइसक्यो ।

‘मकै लगाउँदा ३० हजार रुपैँया खर्च भएको छ, अब त त्यो लगानी पनि खेर जाने भयो ।’ बारीमा सुकेका मकैका बोट हेर्दै उनले भने ‘पोहोर साल त राम्रै भएको थियो, यसपाली त बरबाद नै हुने भयो ।’ मेचीनगर ८ का उनको मात्रै होइन समयमा बर्षा नहुँदा यस टोलका अधिकांश किसानको मकैबाली सुकेर राताम्य भएका छन् । यसै टोलमा छ एक ढुंगाना परिवारको घर । जसले पनि बर्षभरी पुग्ने मकै फलाउने आशाका साथ समयमै मकैबाली लगाएको थियो ।

तर परिणाम स्वरुप खडेरीले मकैबाली नै हेरिनसक्नु हुन थालेको छ । ‘कहाँ भन्नु ? कसलाई भन्नु ? वडामा गएर गुनासा त लेखाएका छौँ तर कसले सुन्ला र खै ?’ सुकेका मकैका बोट देखाउँदै स्थानीय लक्ष्मी ढुंगाना सुनाउनुहुन्छ । लामो समय खडेरी जारी रहँदा मकैबाली नै सखाप हुन थालेको भन्दै दैनिकजसो नै किसानहरु गुनासो लिएर वडामा आउने गरेको मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमला बताए । ‘तर वडाले पनि के गर्ने र खै ? सिँचाइ नहुने जमिनलाई लक्षित गर्दै बोरिङ सञ्चालनको योजना त अघि सारिरहेका छौँ ।’ वडाध्यक्ष धमला भने । ‘सबै स्थानमा सिँचाइ नहुँदा मकै चाहिँ अधिकांश किसानको बारीमा सुकेर राताम्य भएका छन् ।’

समयमा बर्षा नहुँदा उत्पादनमा असर पर्यो : कृषि ज्ञान केन्द्र

यसैगरी खडेरीका कारण झापाका अधिकांश स्थानका किसानका मकैबालीमा असर परेको र मकै उत्पादनमै असर पर्ने आँकलन गरिएको कृषि ज्ञान केन्द्र झापाका सुचना अधिकारी गणेश शिवाकोटीले बताए ।

‘झापाका अधिकांश क्षेत्रमा विशेष गरी हाइब्रिड जातको मकै लगाइएको हुनाले सिँचाइ नभएका कारण असर परेको छ ।’ उनले भने ‘समयमा बर्षा भएर उचित सिँचाइ भइदिएको भए उत्पादन बढ्ने थियो, निरन्तरको खडेरीका कारण उत्पादन घट्ने अनुमान छ ।’ उनका अनुसार जिल्लाका दक्षिणी पालिकाहरु गौरादह, गौरीगञ्ज, बाह्रदशी, झापा गाउँपालिका लगायतका पालिकामा हाइब्रिड जातको मकै धेरै लगाइएको छ । जसका कारण यस पालिकाहरुमा सिँचाइ निम्त्ति निर्माण गरिएका बोरिङ्ग नै सुक्ने गरेको समेत समस्या आउने गरेको उनको भनाई रहेकाे छ ।

प्रतिकृया दिनुहोस्