काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज (सोमबार) देखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंको धूम्रबाराहीमा सुरु हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका सांगठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको संगठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेश गरिनेछ । बैठकमा पेश हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने छन् । पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिने राप्रपाले जनाएको छ ।