झापा, २ असार । घाइतेको उपचारमा सहयोग गर्ने उद्देश्यले धाइजनमा आज साँझ च्यारेटी–सो हुने भएको छ । झापाको मेचीनगर–१३ निवासी आशिष मगर गत जेठ १३ गते आफ्नै सवारी साधानबाट लडेर घाइते भएका थिए । घाइते आशिषको तत्काल बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो ।
आर्थिक अभावका कारण आशिषको उपचारमा समस्या आएपछि च्यारेटी–सो गर्ने भएको हो । शनिबार उठेको रकम उनको उपचारमा सहयोग गर्ने बताइएको छ । घाइते आशिष हाल सामान्य अवस्थामा फर्किए पनि पूर्णरुपमा उपचार नहुँदा अचेत अवस्थामा छ्न् । मेचीनगरमा गत जेठ २२ गतेदेखि सञ्चालित रहेकाे धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा फरक प्रकारको च्यारेटी–सो हुने भएको छ ।
स्थानीय तथा राष्ट्रिय कलाकार शशी मण्डल र योगेश मगरले संगीतमय प्रस्तुति गर्ने आयोजक समितिमा अध्यक्ष सुरेश बुढाथोकीले बताए । धाइजनमा महोत्सव आयोजना गर्नका लागि आशिषको समेत योगदान रहेको बताइएको छ । च्यारेटी–सोकै लागि प्रथम धाइजन महोत्सव–२०८० मा एक दिन आशिषको स्वास्थ्य उपचारका लागि योगदान दिएको ठेकेदार गणेश राउतको भनाई छ । च्यारेटी–सोका लागि न्यूनतम १ सय रुपैयाँ टिकट राखिएको आयोजकले जनाएको छ ।