News Portal

मेचीनगरमा बेथिति : गाडी राख्ने टहरा बनाउन ४० लाख, इन्धन खर्च ७६ लाख

रातोपोस्ट संवाददाता
२४९ पटक

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले कतिपय फजुल खर्चमा बजेटको ठूलो अंश खन्याएको पाइएको छ । ८०/८१ को प्रस्तावित बजेटमा नगरपालिका कार्यपालिकाको कार्यालय चिया, नास्ता र अतिथि सत्कार शिर्षकमा १५ लाख रुपैयाँ छुट्याइएको छ । हरेक त्रैमासिकमा ३ लाख ७५ हजार रुपैयाँ निकासा हुनेगरी वार्षिक १५ लाख रकम छुट्याइएको हो ।

यसैगरी, नगरपालिकाभित्र गाडी व्यवस्थापनका लागि सैड (टहरो ) तथा अपुग कोठा निर्माणका लागि बजेटमा ४० लाख रुपैयाँ छुट्याइएको छ । नगरपालिकासँग नगरप्रमुख र उपप्रमुखको बेग्लाबेग्लै सवारी साधन छ भने अन्य सवारी तथा मेशिनरी गाडीहरु छन् । दमकल लगायतका अधिकांश साधनको राख्ने ठाउँ पहिल्यैदेखि छ ।

स्रोतका अनुसार नगर प्रमुख र उपप्रमुखको गाडी राख्न यो टहरा बनाउन लागिएको हो । तर, टहरो बनाउनै पर्थ्यो भने बजेट घटेको अहिलेको बेला ४० लाखकै बनाउन उपयुक्त थिएन ।

नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले यस्ता फजुल खर्च नगरौं भन्ने आवाज कार्यपालिका र नगरसभा भित्र सुनुवाई नभएको बताए । सवारी साधनको इन्धन र मर्मत खर्चमा समेत नगरपालिकाको बजेट धेरै खर्च भएको देखिएको छ । प्रस्तावित बजेटमा इन्धन खर्च ७६ लाख रुपैयाँ छुट्याइएको छ ।

बजेटमा नगर प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यका लागि इन्धनको बेग्लै शिर्षकमा ३० लाख रुपैयाँ, कार्यालय प्रयोजनको बेग्लै इन्धनमा ४० लाख रुपैयाँ र अन्य प्रयोजनको इन्धनमा ६ लाख रुपैयाँ बिनियोजन गरिएको पाइएको छ । मेचीनगर नगरपालिकाले संघीय र प्रदेश सरकारबाट नै घटेर अनुदान आएको, आन्तरिक श्रोतबाट कम राजस्व उठेको र बजेट नै बिगतको तुलनामा घटाउनु परेको तर्क दिदै मितब्ययिता अपनाउने भन्दै आएको छ । बजेटमा यस्ता कैयन विषय छन्, जसले नगरपालिकाको मितब्ययिताको नारा व्यवहारमा उत्रिने सम्भावना देखिदैन ।

प्रतिकृया दिनुहोस्