झापा, २३ असार । नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल, झापा जिल्लाको आयोजना तथा रेडक्रस झापाको सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् ।
विर्तामोड स्थित अतिथी सदनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रीय सचिव प्रतुस राना मगरले युवा संगठनले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको स्मरण गर्दै रगत अभाव भइरहेको वर्तमान अवस्थामा यस्ता कार्यक्रम आयोजना गरेर ठुलो सहयोग गरेको बताए । ‘रगत अभावका कारण धेरै विरामीहरु तड्पिनुपर्ने अवस्था अहिले पनि छ, जुन अवस्थाबाट विरामीहरुलाई सहजता प्रदान गर्न यस्ता कार्यक्रमहरुले ठुलो भूमिका खेल्छ,’ उनले भने ।
युवा संघ नेपाल झापाका उपाध्यक्ष कृष्ण लोहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी रानामगरसँगै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँ, नेकपा एकीकृत समाजवादी झापाका सचिव विपि भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने विर्ता जेसीजका अध्यक्ष घनश्याम चौधरी, अर्जुनधारा जेसीजका अध्यक्ष अर्जुन रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।
युवा संघ नेपालका केन्द्रिय सदस्य राजन थापाले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष तिर्थ सिग्देलको सञ्चालनमा सम्पन्न भएको थियो ।