News Portal

हात्ती समस्याले अन्न उत्पादन बन्द हुने अवस्था

गोविन्द न्यौपाने
२१५ पटक

असारको मध्य भइसक्दा पनि वर्षा राम्रो हुन सकेको छैन । जेठ १५ मा नै राख्नु पर्ने धानको बिउ बल्ल असारमा राखेका किसानहरु असार १५ को चटके रोपाइँ देखेर कति हाँसे होलान् । चटक देखाउनेहरुले आफ्नो कर्म पूरा गरे पनि कृषकको मानु रोपेर मुरी उब्जाउने कर्म भने साकार हुने हो कि होइन ? यसका लागि मौसमप्रति नै आशा राख्नुको विकल्प देखिँदैन ।

झापाको उत्तर पूर्वी क्षेत्र साविक बाहुण्डाँगी गाविस हालको मेचीनगर १, २, ३ र ४ को कथा अन्य क्षेत्रको भन्दा केही फरक छ । उक्त क्षेत्रमा यस वर्ष असार १५ मा कहीँ कतै धानको रोपाइँ भएको देखिएन । धानको रोपाइँ नहुनुमा समयमा मनसुन नहुनु पनि एक कारण हुन सक्ला, समयमा वर्षा नभएका कारण धानको बिउ राख्न नै किसानहरुले सकेनन् । सुख्खा मौसममा केही साथ दिने बहुचर्चित सिद्धी नहर पनि बिरामी परेको धेरै भयो । जसका कारण साना–साना खोल्साहरु रसाएनन् । उत्तरी क्षेत्रमा भूमिगत सिँचाइको सुविधा हालैका दिनसम्म पुग्न सकेको छैन । यी र यस्तै समस्याका बीचमा साविक बाहुण्डाँगी सुस्ताएको छ ।

चौकीलाइन भनेर चिनिने हाल मेचीनगर ४ र १ को ठुलो फाँटहरु बाँझिएको धेरै भयो । राम्रो मल बिउ र सिँचाइको सुविधा हुने हो भने झापा जिल्लालाई नै खाद्यान्न भरथेग गर्ने यो क्षेत्र पनि थलिएको छ । केही ठुला कृषकहरुले त बाली परिवर्तन गरी चिया लगाए भने अरु केहीले रुख विरुवा रोपेर बाँझै छोडिदिएका छन् । हिउँदको समयमा बाक्लै देखिने मकैबारी पुरै खाली छ । हात्तीबाट हुने क्षतिको भयका कारण कृषकहरुले मकै लगाउन छोडेको धेरै भएको छ ।

विगतमा मकै नलगाए पनि धान रोप्ने कृषकहरुको ठुलो संख्या थियो । तर, निरन्तरको हात्तीको प्रवेशका कारण दिग्दारीको बोझ मात्रै उठाएका कृषकहरुले यसवर्ष धानको खेती गर्ने हुन् कि होइनन् यसै भन्न सकिने अवस्था छैन । सधैँ सिमावर्ती क्षेत्र भारतको मल्लाबारी, ताराबारी क्षेत्रमा धानको खेती गरिने भएका कारण हात्ती केही समय उतै भुल्ने र बाली भित्राउन सकिने उनीहरुको आशा निराशामा परिणत भएको छ । भारतको क्षेत्रमा कुनै पनि बाली नलगाउने भन्ने सुनेका कृषकहरु अझ थप निराश बनेका छन् । केही कृषकहरुले त महेन्द्रद्वार सहकारीले सुरु गरेको जडिबुटी उत्पादनमा सहभागी भएका छन् । जडिबुटी भनिएको वनस्पती कहिले तयारी हुने हो र उनीहरुको आम्दानीको अवस्था के हुने भन्ने बारेमा समेत उनीहरु त्यति धेरै जानकार देखिँदैनन् ।

साविक बाहुण्डाँगी मात्र नभएर मेचीनगर भरी र यस आसपासका पालिकाहरुमा समेत हात्तीको त्रास बढ्न थालेको छ । यो आलेख लेख्दाको अवस्थामा मेचीनगर–१० मा नै एक जेष्ठ नागरिक महिलाको हात्तीले ज्यान लिइसकेको छ । अब साविक बाहुण्डाँगीमा अन्नबाली उत्पादन कठिन हुने देखिएको छ । अन्नबाली उत्पादन नहुने अवस्थामा यहाँको दिगो बाली के हुने हो ? सुपारी अथवा चिया कुन सुरक्षित हुन्छ ? अब गम्भीर बन्ने बेला भएको छ ।

अन्नवालीको उत्पादनका लागि बनाइने पूर्वाधारहरुमा लगानी गर्नुभन्दा बरु अन्य क्षेत्रमा नै लगानी गर्ने हो कि ? फेरी यसरी बाली परिवर्तन गर्दै जाने हो भने यो समस्या अरु क्षेत्रतिर फैलदै जाने पक्का छ । केही पहिला बाहुण्डाँगीमा मात्रै सीमित हात्ती समस्या आजका दिनमा झापाका १३ पालिकामा पुगेका बताइन्छ ।

बाहुण्डाँगीका यी कथा र व्यथाहरु कहिल्यै नसकिने अवस्थामा रहेका छन् । भनिन्छ, समाधान नभएको समस्या नै हुँदैन । तर, यतिका विधि प्रयासहरु निकम्मा सावित हँुदैछन् । हात्तीको आहाराको व्यवस्थापन नभएको अवस्थामा भोकका लागि हात्तीको हुल पस्नु स्वाभाविक भनिए पनि हिजोका प्राकृतिक वनजंगल र चरिचरणहरु नष्ट हुनु नै आजको बढ्दो समस्या हो भन्ने संरक्षणकर्मी र सरोकारवालाहरुले बुझे राम्रो । तर, उनीहरु कृषकका अगाडि कृषककै हितको कुरा गरेर नथाक्ने तर समस्या समाधानमा अन्देखा गर्ने लामो समय भइसकेको छ ।

समय त बित्दै जान्छ । तर, परिणाम यस्तै रह्यो भने द्वन्द्व बढ्दै कहाँसम्म पुग्ला यकिन गर्न ढिला हँुदैछ । निर्वाचनका बेला मुद्धा बन्ने हात्ती समस्या निर्वाचन पछि हराउँदै जाने, सरोकारवालाहरु कृषक भन्दा हात्ती हितका कुरा गर्ने कार्यले अन्ततः सबैको क्षति हुने अवस्था देखिँदैछ । मुलतः साविक बाहुण्डाँगीमा अब अन्नबाली लगाउने क्रम घट्ने छ । त्यसैले कि हात्ती नियन्त्रण गरौँ, यदि गर्न सकिन्न भने अन्न उत्पादनका कार्यक्रम र पूर्वाधारहरु समेत बन्द गरौँ । परिणाम नदिने कार्यक्रमहरु र सिँचाइ नदिने सिद्धी नहर उस्तै–उस्तै हुन्छन् ।

प्रतिकृया दिनुहोस्